दर्शनशास्त्रको मौलिक प्रश्नका सन्दर्भमा 

” दर्शनशास्त्रको सम्पूर्ण इतिहास दुई परस्पर विरोधी स्कुलहर आदर्शवाद र भौतिकवादबीच संघर्ष र विकासको इतिहास हो । सबै दार्शनिक धाराहरु र स्कुलहरु यी दुई आधारभूत स्कुलका अभिब्यक्तिहरु हुन्  ।” – माओ त्सेतुङ

 
             
दर्शनशास्त्र के हो ? केलाई दर्शन भनिन्छ ? यसको जन्म र विकास कसरी भयो ?  दर्शनले मनुष्यलाई के कुराको ज्ञात गराउँदछ ? दर्शनशास्त्रको मौलिक प्रश्न के हो ? आदि  विषयमा  जानकारी लिनु दर्शनसं सम्बन्धित विषय हो । 
             
दर्शनशास्त्र  एक प्राचीन विज्ञान हो । दासस्वामी समाजको जन्मसंगै दर्शनको पनि  उत्पत्ति भएको ह‍ो उत्पादनको निम्ति संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट दर्शनको जन्म भएको हो । अर्थात् दासस्वामी समाजको विकास प्रक्रियाका बीचबाट प्राचीन युनान , भारत , नेपाल र चीनमा संगसंगै दर्शन विकसित हुदै आएको पाइन्छ ।
       
 वास्तवमा विश्व अर्थात् प्रकृति र मानव समाजको जन्म कसरी भयो ? प्रकृति र मानव समाजको विकास कसरी भयो ? साथै प्रकृति र समाजमा कुनै व्यवस्था र नियमसंगति छ ? मानव जीवनका उद्येश्ये , आदर्श , कर्तव्य र मूल्य के हुन ? के मान्छेले प्रकृति र समाजवारे सत्यपूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान र व्यावहारिक क्रियाकलापका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ । यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृतिको उपज र अभिव्यक्ति नै दर्शन हो ।
 
   
शाब्दिक अर्थमा दर्शन भनेको हेर्ने , बुझ्ने र व्याख्या गर्ने साधनको नाम हो ।यो संस्कृत भाषाको ” दृश ” धातुबाट बनेको हो । अंग्रेजीमा दर्शनलाई Philosophy भनिन्छ ।फिलसफी भन्ने शब्द प्राचीन ग्रीक भाषाको Phile र  Sophia भन्ने दुई शब्द मिलेर बनेको छ ।
     
दर्शनशास्त्र मानव चेतनाको रुपहरुमध्ये एक हो ।त्यसैले वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सले ” हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक र संस्कृतिको जीवन्त आत्मा हो ” हो भन्नुभएको छ ।
   
पहिलो , दर्शन भनेको जीवन र जगतलाई हेर्ने , बुझ्ने र व्याख्या गर्ने विश्वदृष्टिकोण हो ।
     
 
दोस्रो , दर्शन भनेको संस्कृति र मानव समाजका एवं चिन्तनका चालक ( Governing )  वा सामान्य ( General ) नियमहरु ( Laws )  को विज्ञान हो । यसले प्रकृति र मानव समाज एवं चिन्तनका ती चालक वा सामान्य नियमहरुको अध्ययन गराएर विश्वदृष्टिकोणको निर्माण गराउँदछ।
         
तेस्रो , दर्शन भनेको सिंगो जीवन र जगत तथा प्रकृति र मानव समाज एवं चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पध्दति ( Methodology ) हो  । यसले जीवन र जगतको अध्ययन कसरी र केका आधारमा गर्ने भन्ने कुरा सिकाउँछ ।
         
मुख्यतः एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनलेे दर्शनलाई बुझाउने फिलोसफी ( Philosophy ) शब्दको प्रयोग गरेका थिए ।
 
 
फिलोस ( प्रेम ) र सोफिया ( विवेक ) जस्ता शब्दको मिलनबाट फिलोसफी बन्यो , जसको अर्थ विवेक प्रेम वा विद्यानुराग हुन्छ । कार्ल माक्र्सका अनन्यमित्र तथा सहयोगी फ्रेडरिक एंगेल्सले
यश प्रकारको दर्शनलाई विश्वदृष्टिकोण भन्नू भएको छ ।
   
 दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप भएकोले वर्ग समाजमा सामाजिक चेतनाको रुप वर्गीय हुन्छ । ठिक यसै कारण दर्शनको स्वरुप पनि वर्गीय हुन्छ ।
   
वर्गसमाजमा हरेक वर्गले आ- आफ्नाा विचार , उद्श्ये , मत , संकल्प , भावना एवं क्रियाकलापको आौतित्य पुष्टि गर्न जरुरी हुन्छ र दर्शनले ठिक यसै आौचित्य पुष्टिको काम गर्दछ ।
     
तसर्थ हरेक दार्शनिक प्रणाली भित्र मूलतः तीन तत्व पर्दछन् – वर्गीय पक्षधरता , सिध्दान्त र पध्दति । वास्तवमा यिनै तीन तत्वको समग्रताको नाम दर्शन अर्थात् विश्वदृष्टिकोण हो ।
     
 यसरी दर्शन के हो ? यसलाई कसरी बुझ्ने र परिभाषित गर्ने ? दर्शनको विषयवस्तु , अर्थ र महत्व के हो ? दर्शनमा के कस्ता प्रवृत्तिहरु छन् र तिनका बीचमाकसरी संघर्ष चल्दै आएको छ ? यी प्रश्नहरुवारे आवश्यक जानकारी प्राप्त गर्नका लागि सर्वप्रथम दर्शनशास्त्रको मौलिक प्रश्नवारे अध्ययन गर्न जरुरी छ ।
       
यश आलेखमा विशेषगरी दर्शनशास्त्रको मौलिक प्रश्नका सन्दर्भमा आधारित भएर लेख्ने प्रयत्न गरिएको छ । 
     
यहाँ चर्चा गर्न खोजिएको दर्शनशास्त्रक‍ो मौलिक प्रश्नको हो । दर्शनशास्त्रको मौलिक प्रश्न सम्बन्धि विषय ज्यादै महत्त्वपूर्ण विषय ह‍ोो । दर्शनशास्त्रको फाँटमा दुईवटा यस्ता प्रश्नहरु खडा छन् , जसको जवाफले मानिसलाई दर्शनका दुई कित्ता मध्ये एउटा कित्तामा उभ्याइदिन्छ ।
     
ती मध्ये पहिलो प्रश्न हो – सत्ता र चिन्तन अर्थात् पदार्थ र चेतना मध्ये कुन प्राथमिक ( पहिलो ) हो ? र जसले सत्ता अर्थात् पदार्थलाई प्रधान ( पहिलो ) हो भन्दछ त्यो भौतिकवादी हो र जसले चिन्तन अर्थात् चेतनालाई प्रधान ( दोस्रो ) हो भन्ने मान्दछ त्यो आदर्शवादी  हो  ।
       
जब आदिम साम्यवादको अन्त्य भएर दास मालिक युगको उदय भयो तब देखि जीवन जगतलाई बुझ्ने दुई दर्शनशास्त्र पनि उदय भए । ती दुई दर्शनशास्त्रमा भौतिकवाद र आदर्शवाद मुख्य हुन् । यी दुई दर्शन मध्ये दार्शनिकहरुलाई पनि दुई भिन्न कित्तामा उभ्याई दिन्छ  ।
 
जस्तैः पदार्थ र चेतनामा पदार्थ पहिलो हो र चेतना पदार्थ कै विकसित रुप हो भन्ने स्वीकार गर्ने दार्शनिकहरु भौतिकवादी कित्तामा उभिन्छन् भने चेचना पहिलो हो  पदार्थ चेतनाको उपज हो भन्ने स्वीकार गर्ने दार्शनिकहरु आदर्शवादी कित्तामा उभिन पुग्दछन् ।
   
 त्यस्तै दुईवटा यस्ता प्रश्नहरु छन् जसको जवाफले मानिसलाई दर्शनका दुई कित्ता मध्ये एउटा कित्तामा उभ्याइदिन्छ । त्यस मध्ये पहिलो प्रश्न हो सत्ता र चिन्तन अर्थात् पदार्थ र चेतना मध्ये कुन प्रमुख हो ? 
   
यसको सही उत्तर हो जसले सत्ता अर्थात् पदार्थलाई प्रधान हो भन्दछन् ती भौतिकवादी कित्तामा खडा हुन्छ । र , जसले चिन्तन अर्थात् चेतनालाई प्रधान हो भन्ने मान्दछ त्यो आदर्शवादी कित्तामा खडा हुन्छ ।
     
तसर्थ पदार्थलाई आदितत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरु भौतिकवादसित सम्बन्धित छन् । उनीहरूले दृष्टिकोणमा पदार्थ  शाश्वत छ अर्थात् कसैले पनि कहिल्यै पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगतमा कुनै किसिमको अलौकिक वाा पारलौकिक शक्तिको अस्तित्व छैन ।
 
 
चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरुको रहेको छ भने “आत्मा ”  चेतनालाई आदितत्व मान्ने दार्शनिकहरु अध्यात्मवादसित सम्बन्धित छन् ।
 
उनीहरूले दृष्टिकोणमा पदार्थ भन्दा पहिले नै चेतनाको अस्तित्व थियोे र त्यसैले पदार्थलाई जन्माएका हो अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो । र , भौतिकवादी  दार्शनिकहरुले जगत बोधगम्य छ भन्ने पुष्टि गरेका छन् भने अध्यात्मवादी दार्शनिकहरु जगतको बोधगम्यतालाई अस्वीकार गर्दछन् ।
 
 
 दर्शनशास्त्रको मौलिक प्रश्नका वारेमा फ्रेडरि एंगेल्स भन्नू हुन्छ , – ” समग्र दर्शनको र विशेषत नयाँ दर्शनको महान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो  । – माक्र्स – एंगेल्स , संकलित रचनाएं , खण्ड ३ , भाग २ , पृष्ठ २२३ प्रगति प्रकाशन मास्को १९७८ ।
   
  मूलतः चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो ।यसरी यहाँ चिन्तन र सत्ता जस्ता दुईवटा महत्त्वपूर्ण शब्दहरुको जसरी उल्लेख गरिएको छ हामीले यी शब्दको वास्तविक अर्थ बुझ्न जरुरी हुन्छ । तसर्थ यहाँ प्रयोग गरिएको चिन्तन शब्दावली अर्थात् संवेदना ,अनुभव ,इच्छा , संकल्प , विचार , अवधारणा , सिध्दान्त , दृष्टिकोण जस्ता चेतनाका विविध रुपहरु पर्दछन् ।
   
सत्ता भनेको अस्तित्व हो , विश्व हो  ।यश अन्तर्गत प्रकृति र समाज पर्दछन् । यश अर्थमा सत्ता र चिन्तनको प्रश्न विश्वदृष्टिकोणको प्रश्न बन्न पुग्दछ र यही नै दर्शनशास्त्रको मौलिक प्रश्न हो ।
   
यहाँ दर्शनशास्त्रको मौलिक प्रश्नका दुई महत्त्वपूर्ण पहलुहरु छन् । जस्तो पहिलो पहलु अन्तर्गत चिन्तन र सत्ता बीच प्राथमिकताक्रम निर्धारण गर्ने कुरा आउँछ ।
     
दोस्रो पहलु अन्तर्गत चिन्तन र सत्ताबिचको आपसी अन्तर्क्रिया उद्घाटित गर्ने कुरा पर्दछ ।
     
आत्मा र प्रकृतिमा प्राथमिक कुन हो ? के ईश्वरले विश्वको सृष्टि गरेको हो ? या विश्व अनन्तकालदेखि नै अस्तित्वमा छ ? यी प्रश्नहरुको उत्तर दिने क्रममा दार्शनिकहरुलाई दुई ठूला शिविरमा खडा गरि दियो । जसले प्रकृतिको सट्टामा आत्मालाई प्राथमिकता दिए र कुनै न कुनै विश्वको सृष्टि स्वीकारे , उनीहरूको अलग्गै आदर्शवादी  शिविर खडा भयो 
     
अर्कोथरी जसले प्रकृति प्राथमिकता दिए ती दार्शनिकहरु भौतिकवादका विभिन्न शाखाहरुमा खडा ( सामेल ) भए । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नको जवाफ दिने सन्दर्भमा दार्शनिकहरु कसरी आदर्शवाद र भौतिकवाद जस्ता दुई ठूला शिविरमा विभाजित भए भन्ने कुरा प्रष्ट रुपमा जान्न सकिन्छ ।
     
साथै यश अतिरिक्त आदर्शवाद र भौतिकवादको बीचमा समन्वय कायम गर्ने , दुबैलाई समानन्तर रुपमा लिने वा तटस्थ रहने तेस्रो धारा पनि पाइन्छ ।
       
तसर्थ दर्शनशास्त्रको मौलिक प्रश्नको पहिलो प्रश्नको उल्लेख गर्ने सन्दर्भमा मूलतः तीन प्रवृत्ति पाइन्छन् , जस्तै आदर्शवाद , भौतिकवाद र बीचका धारा ।
     
यसरी बीचका धारा अन्तर्गत द्वैतवाद , तटस्थतावाद वा समन्वयवाद रहेका छन् ।
     
दर्शनशास्त्रको मौलिक प्रश्नको दोस्रो प्रश्नको विवेचना गर्दा यसको उत्तर दिने र चिन्तन र सत्ताको तादाम्यता यश प्रश्नमा जसले सकारात्मक उत्तर दिने गर्दछन् ती भौतिकवाद र ज्ञेयवादको श्रेणीमा पर्दछन् र नकारात्मक  उत्तर दिनेहरू अज्ञेयवादको श्रेणीमा पर्दछन् । 
   
 तसर्थ चिन्तन र सत्ताको तादाम्यसंग सम्बन्धित प्रश्न विश्व , त्यसको सारतत्व र त्यसका नियमहरुलाई बुझ्ने र तदनुसार विश्वलाई बदल्ने विषयसंग सम्बन्धित प्रश्न हो । यो  प्रश्नको जवाफ दिनेमा भौतिकवाद , आदर्शवाद र विभिन्न बीचका धाराहरुका आ- आफ्नै मान्यता रहेका छन् , जस्तैः अद्वैतवाद , द्वैतवाद , बहुलवाद । तसर्थ दार्शनिक प्रवृत्तिहरुलाई छुट्याउने मूल आधार प्राथमिक तत्वको संख्या न भई दर्शनशास्त्रको मौलिक प्रश्नको विवेचना नै हो ।
   
दार्शनिकहरुको विवेचना गर्नु पर्दा प्राचीनकालका भारतीय दार्शनिक चार्वाक , प्रमाणु प्रमुख हो भन्ने ग्रीक दार्शनिक डेमोक्रिट्स , प्रकृति प्रमुख हो भन्ने चिनीया दार्शनिक लाओत्से सबै भौतिकवादी दार्शनिक हुन्  । पदार्थलाई प्रधान मान्ने थेल्स , एपि क्युरस , फायरवाख , माक्र्स , एंगेल्स आदि दार्शनिकहरु सबै भौतिकवादी हुन् ।
     
परम विचारलाई प्रधान मान्ने ग्रीक दार्शनिक प्लेटो , निरपेक्ष विचारलाई प्रधान मान्ने जर्मन दार्शनिक हेगेल , इच्छाशक्तिलाई प्रधान मान्ने जर्मन दार्शनिक नित्से आदर्शवादी दार्शनिक हुन् ।
     
“ब्रहम सत्य जगत मिथ्या ” भन्ने अद्वैत वेदान्त आदर्शवादी दर्शन पनि रहेको छ ।
    दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थता प्रकट गर्नेमा मूलतः नेपालका दार्शनिक गौतम बुध्द रहेका छन् ।
     
 
अन्त्यमा , विश्व ब्रह्माण्ड ज्ञेय छ अर्थात् विश्वलाई जान्न सकिन्छ , बुझ्न सकिन्छ भन्नेहरु भौतिकवादी हुन् । यसमा संसार ज्ञेय छ भन्ने प्राचीन ग्रीक दार्शनिक अरस्तु भौतिकवादी हुन् ।
     
यसको विपरीत जसले यो संसारलाई जान्न सकिदैन , बुझ्न सकिदैन भन्दछन् ती आदर्शवादी हुन् । स्कटल्याण्डका दार्शनिक ह्युम र जर्मन दार्शनिक काण्ट आदर्शवादी हुन् । तिनीहरूलाई अज्ञेयवादी पनि भनिन्छ । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नका वारेमा प्रष्ट रुपमा बोध गर्न सकिन्छ ।
     
यसर्थ आदर्शवादी दर्शन शोषक , फटाह , सामन्त र पुँजीपतिहरुको पक्षधर रहेको छ भने भौतिकवादी दर्शन श्रमजीवी , सर्वहारा वर्गको पक्षधर रहेको छ । 
     
माक्र्सवादी दर्शन भौतिकवादी दर्शन हो । र , माक्र्सवादी दर्शन श्रमजीवी , सर्वहारा वर्गको मुक्तिको सिध्दान्त हो ।
 
 
( लेखक :  नेकपा  (क्रान्तिकारी माओवादी ) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) ।