नेपाली भूमिको रक्षा गर्न चीनको धम्की र अनुचित प्रभावमा नपरि उभिने कांग्रेस नेता शाहीको प्रतिबद्धता (विज्ञप्तिसहित)

काठमाडौं,कार्तिक २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले चीनलाई नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौति दिनुभएको छ ।

 

चीनले कांग्रेस र कांग्रेसका नेताहरुले सीमा अतिक्रमणको हल्ला फिँजाइरहेको आरोप लगाएपछि उहाँले नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौति दिनुभएको हो ।

 

‘नेपाल र चीनबीच सीमा विवाद देखिएको हुम्ला जिल्लाको उत्तरी क्षेत्रको स्थलगत निरीक्षण पश्चात गरिएको सुक्ष्म अध्ययन एवं विश्लेशण र तथ्यका आधारमा नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छायाँमा पार्ने गरी आफ्नो मुखपत्र ग्लोबल टाइम्स पत्रिकामार्फत् चीन सरकारले लगाएका सम्पूर्ण मिथ्या आरोपलाइ खारेज गर्दछु र एक इन्च पनि नेपाली भूमी नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाइ चुनौती दिन्छु, शाहीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

नेता शाहीले चीनको धाक–धम्की र अनुचित प्रभावमा नपरि नेपाली भूमिको रक्षाका लागि सदैव उभिने प्रतिबद्धता पनि जनाउनुभएको छ । ‘हुम्ला जिल्लाको जिम्मेवार जनप्रतिनिधिको नाताले आफ्नो भूमिको रक्षाका लागि कुनै किसिमको धाक, धम्की र अनुचित प्रभावमा नपरि अटुट रूपमा लागी पर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभएको छ।

 

चीनले नेपाली भूमि नमिचेको प्रमाणित गरेमा जस्तो सुकै सजाय भोग्न समेत तयार रहेको जानकारी गराउँदै आफ्नो भूमिको रक्षाका लागि नेपाल सरकार र सरोकार निकायलाई निरन्तर दवाव सृजना गर्न र यस्ता मिथ्या एवं काल्पनिक समचारवाट भ्रममा नपर्न आम नेपाली समुदायलाइ अपिल गर्दछु ।

 

कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटनमन्त्री समेत रहेका शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरी चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाउनुभएको थियो ।

 

उहाँको प्रतिवेदनका आधारमा कांग्रेसले सरकारलाई सीमा विवाद समाधानको पहल गर्न माग गरिरहेका बेला चीनले शाहीलाई चीनविरोधी गतिविधिको नेतृत्व गरिरहेको आरोप लगाएको थियो ।

 

‘हु इज बिहाइन्ड दी फ्याब्रिकेटेड रिपोर्टस् प्रोभोकिङ् नेपाल एग्नेस्ट चाइना रु’ शीर्षकको समाचारमा हुम्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप लगाइएको समाचार ’गोप्य स्रोत’ भन्दै पश्चिमा तथा भारतीय सञ्चारमाध्यमले प्रकाशित–प्रसारित गरेको समाचार चीनको मुखपत्र ‘ग्लोबल टाइम्स’ ले प्रकाशित गरेको थियो ।

 

कांग्रेसलाई ‘प्रो इन्डियन फोर्स’ को संज्ञा दिँदै चीनले कांग्रेसका कारण नेपाल–चीन सम्बन्ध बिग्रिदै गएकोसमेत आरोप लगाएको थियो । ‘ग्लोबल टाइम्स’ लाई उद्धृत गर्दै नेपालका अनलाइन सञ्चार माध्यमहरुले उक्त समाचार प्रकाशन गरेपछि नेता शाहीले आप्mनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

 

‘नेपाल र चीनबीच सीमा विवाद देखिएको हुम्ला जिल्लाको उत्तरी क्षेत्रको स्थलगत निरीक्षण पश्चात गरिएको सुक्ष्म अध्ययन एवं विश्लेशण र तथ्यका आधारमा नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाइ छायामा पार्ने गरी आफ्नो मुखपत्र ग्लोबल टाइम्स पत्रिकामार्फत् चीन सरकारले लगाएका सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्दछु,’ नेता शाहीले भन्नुभएको छ ।

 

स्थलगत निरीक्षणबाट छिमेकी चीनले लोलोङ्गजोम क्षेत्रमा मात्र नभइ अन्य सीमा क्षेत्रमा समेत नेपाली भूमि अतिकमण गरेको प्रमाणहरू काल्पनिक नभएर तथ्यगत रहेका उहाँले दाबी गर्नुभएको छ ।

यस्ताे छ विज्ञप्ति!