बैतडीको खोड्पेमा बसदुर्घटना हुँदा ९ जनाको मृत्यु ३४ जना घाइते

काठमाडौं,कार्तिक २८ । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु  भएको छ,भने ३४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।

 

 जिल्लाको पाटन नगरपालिका ८ खोड्पेमा सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको बैतडीका प्रमुख प्रहरीले जनाएकाे छ।

 

  मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ । बैतडी घर भएका उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनको परिचयपत्रको आधारमा पहिचान खुलेको प्रहरीले जनाएकाे छ। 

 

मृतक मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

 

मृतक मध्ये ८ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने, एकजनाको बससंगै अड्किएकाले शुक्रबार दिउँसो निकालिने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

 

प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

 

तिहारको समयमा ठूलो दुर्घटना भएपछि बैतडीबासी शोकमग्न भएका छन् । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भईनसकेको प्रहरीले जनाएको छ ।