सच्चा कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादबारे !

  •  
  • एउटा वर्गीय समाजमा राज्यले कुनै खास वर्गको हितमा काम गर्ने, त्यसको संरक्षण गर्ने र त्यसको लागि आवश्यक सबै काम गर्ने गर्दछ । त्यो वर्गको हितमा बाधा पार्ने अन्य वर्गलाई आवश्यकता प¥यो भने दमन, उत्पीडन, हिंसा आदिको प्रयोग गर्ने गर्दछ । त्यती मात्र पनि पर्याप्त हुँदैन राज्यले कानुन, संविधान, साहित्य, संंस्कृति, राजनीति, विचार आदि सबैको पनि प्रयोग गर्ने गर्दछ ।

 

यी सबैले राज्यसत्ता प्राप्ति र त्यसको संरक्षण र रक्षाका लागि काम गर्दछन् । यी सबै विषयमा स्पष्ट सोचाई नभैकन मजदुर, किसान लगायतका शोषित, उत्पीडित, विपन्न वर्गले आफुलाई मुक्त पार्न र यसका निमित्त संघर्ष संचालन गर्नु संभव हुँदैन ।

यी आधारभुत विषयमा भएका भ्रमहरु बारे स्पष्ट हुनु अत्यावश्यक छ । एउटा सानो लेखमा सबै विषयमा स्पष्ट पार्नु संभव छैन । प्रस्तुत लेखमा केहि राजनीतिक विषयमा सिर्जित भ्रमबारे स्पष्ट पार्ने प्रयत्न गरिने छ ।

के सत्ताधारी नेकपा, कम्युनिष्ट पार्टी हो ?

यतिखेर सत्तामा रहेको पार्टीको नाम उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेका छन् । यसलाई डबल नेकपा पनि भन्ने गरिन्छ । जुन पार्टी कम्युनिष्ट पार्टी नै होइन, त्यसको नाम चाहिँ डबल नेकपा !

यसले “जुन गोरुको सिङ् छैन, त्यसको नाम तिखे” भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ । यसको नाम कम्युनिष्ट पार्टी राख्नु भनेको सम्पत्ती हुँदै नभएको मानिसले ‘धनपति’ वा ‘धन बहादुर’ नाम राखे जस्तै हो । आखिर उनीहरुले यस्तो काम किन गरेका हुन् त रु त्यसको कारण छ ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७० वर्ष जति भयो । यस विचमा कम्युनिष्ट पार्टीले राष्ट्र र जनताको पक्षमा ठुला ठुला आन्दोलनहरुको नेतृत्व गरेको छ । जन सरकार पनि खडा गर्ने काम गरेको छ ।

जनतालाई न्याय र अधिकार दिलाउने काम गर्दै आएको छ । वहुसंख्यक जनता गरिव भएको हाम्रो देशमा गरिवीबाट मुक्ति दिलाउने काम कम्युनिष्टले गर्दछन् भन्ने पनि जनतालाई थाहा छ । नेपाली जनताको ठुलो हिस्साले कम्युनिष्टलाई मन पराउँछन्, कम्युनिष्ट पार्टीलाई रुचाउँछन् ।

त्यसकारण, आफु पनि कम्युनिष्ट पार्टी भएको भन्ने भ्रम पारेर चुनावमा भोट तान्नका लागि यो सत्ताधारी वर्गका पार्टीले कम्युनिष्ट भन्ने नाम राखेका हुन् । हुनत, विदेशी शक्तिहरुले आफ्ना दलालहरुलाई चुनाव जिताउन पैसाको खोलो बगाउँछन् ।

सबै किसिमका शाक्तिको प्रयोग गर्दछन् । उनीहरुले त नेपाली जनतालाई बिकाउ माल बनाइ सके । चुनाव जिताइ सकेपछि सत्तामा पु¥याइ सकेपछि राष्ट्रघाती काम गर्न लगाउँछन् । आज ओली सरकारले राष्ट्र घाती एम् सी सी संझौता गरि सकेर त्यसलाई संसदबाट पारित गराउन मरिमेटाइ गरेको कारण पनि यहि हो ।

पैसामात्र बाँडेर मात्र पनि सरकारमा जान सकिन्न । जनतालाई भ्रममा पार्ने माध्यमका रुपमा काम गर्ने संगठन पनि चाहिन्छ । इमान्दार मानिसहरुलाई समेत भ्रममा पार्न कम्युनिष्ट पार्टी नाम खुबै सोच विचार गरेर राखेका हुन् ।

अहिले सरकारमा भएको पार्टीले यदि कम्युनिष्ट पार्टी नराखेर अरु कुनै नाम राखेको भए, यसले यति धेरै सिट जित्न संभव हुने थिएन होला । उनीहरुको सरकार पनि बन्न सक्ने थिएन होला ।

यस्तोविधि फलिफाप हुने भए पछि ‘कम्युनिष्ट’ भन्ने नाम किन छाडुन्?

यसले कुन बर्गको प्रतिनिधित्व गर्छ त ?

विचार, सिद्धान्त, राजनीति, आचरणको हिसाबले यो दलाल पुँजीपति वर्ग, नोकरसाही पुँजीपति वर्ग र सामन्त वर्गको हितमा काम गर्ने पार्टी बन्न पुगेको छ । यसको अर्थ त्यसका सबै सदस्य, सबै समर्थक, सबै कार्यकर्ता नै त्यस्तै हुन् भन्ने होइन ।

 

कतिपय तल्लो वर्गका मानिसहरु पनि भ्रममा परेर त्यसमा लागेका छन् । कतिपय आफ्नो दैनिक समस्या समाधान गर्नका लागि पनि समावेश भएका छन् । कतिपय अब क्रान्ति गर्न नसकिने भयो, क्रान्ति सम्पन्न नहुने भयो भनेर निरास भएर, थाकेर, हारेर पनि त्यसमा लागेका छन् ।

 

यो पार्टीमा लागे पछि माथिल्लो स्तरका केही नेताहरुको वर्ग पनि उत्थान भएको देखिन्छ । एक जोर राम्रा र नयाँ लुगा लगाउन दशैं कुर्नु पर्नेहरु अकुत सम्पत्ती जम्मा गरेर नव धनाढ्य वर्गमा रुपान्तरित भएका छन् । उनीहरु आफैं दलाल पुँजीपतिमा बदलिएका छन् ।

 

उनीहरुको यो वर्ग उत्थान सजिलै भएको भने होइन । त्यसको निमित्त उनीहरुले ठुला ठुला राष्ट्रघात, भ्रष्टाचार, कमिसनखोरी, जनघात आदि गरेका हुन्छन् । आफ्नो सिद्धान्त, विचार, राजनीति, वर्ग, छाडेर दुश्मनको कित्तामा पुगेका हुन्छन् । तर, तल्लो तहका कार्यकर्ता र समर्थकले त्यो अवसर पाएका हुँदैनन् ।

आचरण, आदत, बानी, व्यहोरामा केहि परिवर्तन भै हाले पनि वर्ग उत्थान नै भै हालेको हुँदैन । कसैको विषयमा दृष्टिकोण बनाउँदा, आन्दोलन उठाइरहँदा यो पक्षमा पनि ख्याल गर्नु आवश्यक हुन्छ । सबैलाई एउटै डालोमा हालेर मुल्यांकन गर्नु हुँदैन ।

समाजवाद–विभिन्न किसिमका

सत्तामा आसिन यी (नामधारी) कम्युनिष्टले अर्को ठुलो भ्रम पारेको विषय हो – समाजवाद । उनीहरुको भनाई के छ भने उनीहरुले गरेको ठुलो प्रयत्नले यो संविधानमा “समाजवाद” लेखिएको हो । उनीहरुले भन्ने गर्छन् नेपालको क्रान्तिको उपलव्धी नै यहि “समाजवाद” हो । यसको यथार्थ जानकारीका लागि यो संविधानमा लेखिएको उद्धरण यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ :

“जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही राष्ट्र निर्माण गर्न,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमव्दारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।

(नेपालको संविधान, पृ १) । यहाँ हामीले बुझ्नै पर्ने विषय के छ भने ‘समाजवाद’ एउटै अथवा एकै किसिमको मात्र हुँदैन । समाजवाद विभिन्न किसिमका हुन्छन् ।

यसलाई ‘मानिस’ भन्ने शव्द सँग तुलना गर्न सकिन्छ । संसारमा भएका मानव जातिका सदस्य सबै मानिस नै हुन् । तर, मानिस धेरै किसिमका हुन्छन् :

असल मानिस, खराब मानिस, दयालु मानिस, दुष्ट मानिस, धनी मानिस, गरीव मानिस, सम्मानित मानिस, घृणित मानिस, क्रान्तिकारी मानिस, प्रतिकृयावादी मानिस इत्यादि । जसरी एक जना मान्छेको परिचय दिन ‘मानिस’ मात्र भनेर पुग्दैन, कस्तो मानिस रु भन्ने प्रश्न उठ्छ । त्यसैगरी ‘समाजवाद’ मात्र भनेर पुग्दैन कस्तो समाजवाद भन्ने प्रश्न गर्नु पर्दछ ।

 

विश्व साम्यवाद र वैज्ञानिक समाजवादका प्रणेता र सिद्धान्तकार कार्ल माक्र्स र वहाँका सबै भन्दा नजिकका साथी एंगेल्सले तयार गर्नु भएको ‘कम्युनिष्ट घोषणा पत्र’ नै समाजवादको व्याख्या गर्ने विश्वले स्वीकार गरेको आधिकारिक दस्तावेज हो ।

त्यसमा वहाँहरुले विभिन्न किसिमका समाजवादको व्याख्या प्रस्तुत गर्नु भएको छ । यहाँ ती सबैको व्याख्या संभव नभएकोले ती समाजवादका नाम मात्र उल्लेख गरिएको छ :

उक्त ऐतिहासिक दस्तावेजमा – प्रतिकृयावादी समाजवादको विषयमा उल्लेख गरिएको छ । त्यो समाजवाद अन्तर्गत सामन्तवादी समाजवाद र निम्न पुँजीवादी समाजवादको पनि व्याख्या गरिएको छ ।

 

त्यहाँ जर्मन समाजवादको व्याख्या छ । त्यहाँ संकिर्ण अथवा पुँजीवादी समाजवादको चर्चा गरिएको छ । उपरोक्त समाजवादहरु वास्तविक र वैज्ञानिक समाजवाद नै होइनन् । अनि ‘समाजवाद’ भन्ने शव्दले हामीलाई कति झुक्याउने रहेछ त ?

जन गणतन्त्र र वैज्ञानिक समाजवाद

हामीले ल्याउन खोजेको समाजवाद भनेको वैज्ञानिक समाजवाद हो । नेपालको अहिलेको संंिवधानले परिकल्पना गरेको समाजवाद भनेको प्रतिकृयावादी समाजवाद हो ।

 

यी दुइवटा समाजावादमा मिलनको विन्दु नै छैन । तिनीहरुका वीचमा पूर्व र पश्चिम, उत्तर र दक्षिण जस्तै अन्तर छ । आकास र पाताल जस्तै अन्तर छ । डबल नेकपाले यस विषयमा कति ठुलो भ्रम पार्न खोजेको रहेछ त ? यसमा बुझ्नु पर्ने अर्को विषय पनि छ । हामीले चाहना राख्दैमा नेपालमा एकै पटक वैज्ञानिक समाजवादको पनि स्थापना हुन सक्दैन ।

 

अहिले आउन सक्ने वा ल्याउनु पर्ने व्यवस्था भनेको नयाँ जनवाद वा जनवादी गणतन्त्र वा जन गणतन्त्र हो । यी तीन वटैको सार एउटै हो । पहिले यो व्यवस्था ल्याएर मात्र नेपालमा वैज्ञानिक समाजवादको स्थापना हुन सक्छ । वैज्ञानिक समाजवादको जग बस्न सक्दछ । त्यसैले हामी यतिखेर जनवादी गणतन्त्र वा जन गणतन्त्रका लागि संघर्ष गरिरहेका छौं ।