बंगलादेशमा रहेका नेपालका राष्ट्रिय खेलाडी सबैको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं,कार्तिक ३०। दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सबै २५ खेलाडीसहित नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।नेपाली टिमको शनिबार कोरोना परिक्षण गरिएको थियो ।

 

यस्तै एन्फाले यस अघि पोजेटिभ देखिएको एक खेलाडीको नयाँ रिपोर्ट समेत नेगेटिभ आएको जनाएको छ । उनी टिममा चाडै फर्कने एन्फाले जनाएको छ । उनले शुक्रबार भएको पहिलो खेल गुमाएका थिए ।तर, एन्फाले बंगलादेशका मुख्य प्रशिक्षकको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

 

घरेलु टिमसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम ढाकामा रहेको छ ।नेपालले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ ।

 

बंगबन्धु रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो ।फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।