प्रचण्डको प्रतिवेदन फिर्ता नभए पार्टी एकता भंग हुने ओली निकट नेताको निश्कर्ष

काठमाडौं,मंसिर २ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ।

 

प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटमा पार्टी भित्रको गतिरोध अन्त्यबारे छलफल भएको बताइएको छ । २७ गतेको सचिवालय बैठकमा प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई लिएर नेकपाभित्र मतभेद बढ्दै गएको छ ।

 

महासचिव पौडेलले पार्टीभित्र पछिल्लो समय देखापरेको गतिरोध अन्त्यको लागि सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको स्रोतको दाबी रहेकाे छ ।

 

प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले प्रचण्डले पेश गर्नु भएको प्रतिवेदन फिर्ता लिनुपर्ने बताउँदै  आएका छन् ।

 

प्रचण्डसँगको भेटमा महासचिव पौडेलले सो प्रतिवेदन फिर्ता नलिए पार्टी एकता भंग हुने निश्कर्ष प्रचण्डलाई सुनाउनु भएको स्रोतको भनाइ छ।

 

महासचिव पौडेलले सचिवालयमा प्रचण्डको तर्फबाट आएको प्रतिवेदन फिर्ता नभए एउटै कमिटीमा बैठक बस्ने अवस्थासमेत नरहेको तथ्यलाई स्मरण गर्दै प्रस्ताव फिर्ता नभए पार्टी बिभाजनकै लागि सो प्रतिवेदन ल्याइएको तथ्य स्थापित हुने आफूहरुको निश्कर्षसमेत सुनाउनु भएको स्रोतले बतायो ।

 

प्रधानमन्त्री निकट सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले सार्वजनिक रूपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने बताइसकेका छन्।  

पार्टी बिभाजनको आधारपत्रका रुपमा प्रचण्डको प्रतिवेदन आएकोले एकता जोगाउन पहिला फिर्ता लिनुपर्ने प्रधानमन्त्री निकट नेताहरुको निश्कर्ष रहेकाे स्राेतकाे दाबि छ ।