नेकपा सचिवालय बैठक मंसिर १३ गते सम्म स्थगित, ओलीले छुट्टै राजनीतिक प्रतिवेदन पेस गर्ने

काठमाडौं,मंसिर ३। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् ।

 

नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ। आज १ बजे बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्ने बताएका छन्।

 

सचिवालयको अर्को बैठक मंसिर १३ गते, स्थायी समिति १८ गते र केन्द्रीय समिति बैठक २५ गते बस्ने नेताहरुबीच सहमति भएको छ। यस अघि मंसिर १५ लाई केन्द्रीय समिति बैठक बोलाइएको थियो।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन् । यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

 

साथै सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि)समेत वितरण भएको थियो ।

 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष ओलीको प्रस्ताव समेतलाई ध्यानमा राखेर सचिवालय बैठक १० दिनका लागि स्थगित गरिएको बताएका छन् । १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुने भएकाे छ ।