मेलम्ची खानेपानी आयोजना: वितरण प्रणाली तयारी अवस्थामा

काठमाडौँ, मङ्सिर ४। मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ ।

 

पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ ।

 

मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ ।

 

बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता उज्ज्वल प्रजापतीले जानकारी दिनुभयो । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५।५ किमी सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।

 

चक्रपथ भित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुनेछ । चक्रपथ बाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ ।

 

मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहेको प्रवक्ता प्रजापतीको भनाइ छ । पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उहाँको भनाइ छ ।

नौवटा पानी ट्याङ्की सम्पन्न

सुन्दरीजलमा आएको मेलम्चीको पानीलाई विभिन्न स्थानमा निर्माण भएका पानी सङ्कलन केन्द्रका ट्याङ्कीमा भण्डारण गरी वितरण गरिनेछ । यसका लागि उपत्यकामा १० वटा ट्याङ्की निर्माण गरिएको छ ।

नौवटा तयारी अवस्थामा छन् । आयोजनाका अनुसार आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण सम्पन्न भएका छन् । भक्तपुर कटुञ्जेको भने निर्माण भइरहेको छ । १० वटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ । यी पोखरी तीन हजारदेखि नौ हजार पाँच सय घनमिटर क्षमताका छन् ।

 

भल्ब च्याम्बर एकदेखि चारसम्मका प्याकेजमा २२२ मध्ये २१० वटा निर्माण भइसकेका छन् भने १२ वटा बाँकी छन् । निर्देशनालयले एक लाख दुई हजार ५७४ धारा जडान गर्नुपर्नेमा हालसम्म ७५ हजार धारा जडान गरिसकेको छ ।

पाँचमध्ये एक प्रशोधन केन्द्र सम्पन्न

उपत्यकाको फोहोर पानी प्रशोधन गर्न करिब छ अर्ब २९ करोड रुपियाँ लगानीका प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । आयोजना निर्देशनालयले पाँचवटा प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न गरेको छ । बाँकी चारवटाको काम करिब २५ प्रतिशत सम्पन्न छ । प्रशोधन केन्द्र निर्माणको काम करिब तीन वर्षअघि सुरु भएको थियो ।

 

गुह्येश्वरीको प्रशोधन केन्द्र सम्पन्न भएको छ तर ग्याँसबाट बिजुली निक९ाल्ने काम भने बाँकी रहेको प्रवक्ता प्रजापतीले जानकारी दिनुभयो । सल्लाघारी, बालकुमारीको प्रशोधन केन्द्रको काम २५ प्रतिशत मात्र सम्पन्न भएको छ । लामो समय जग्गाको मुआब्जा विवादले रोकिएको धोबीघाटको प्रशोधन केन्द्रको काम अहिले सुरु भएको छ ।

कोरोना कोभिड–१९ महामारीको अवस्थामा भने कामको गति ढिला भएको निर्देशनालयले जनाएको छ । चारवटै प्रशोधन केन्द्रको निर्माण सम्झौता थप गर्नुपर्ने भएको छ । प्रवक्ता प्रजापती भन्नुहुन्छ, “करिब तीन वर्षअघि काम सुरु भएको हो । सम्झौता अनुसार अब एक महिना बाँकी छ तर कोरोनाको प्रभावले गर्दा केही ढिलाइ हुन्छ । म्याद थप गर्नुपर्ने अवस्था देखिएको छ ।

मल र बिजुली दुवै

निर्देशनालयका अनुसार मेलम्चीको पानी घरघरमा पुगेपछि ८० प्रतिशत फोहोर पानीका रूपमा बाहिर आउने छ ।त्यसको व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गरिएको हो।दुई अर्ब ५५ लाख रुपियाँ लगानीमा निर्माण भएको गुह्येश्वरी प्रशोधन केन्द्रले दुई करोड २४ लाख लिटर प्रतिदिन प्रशोधन गर्नेछ । यसले दैनिक सात टन मल उत्पादन गर्नेछ भने ३२० किलोवाट प्रतिघण्टा बिजुली उत्पादन गर्ने निर्देशनालयले जनाएको छ ।

 

साठी करोड ७५ लाख रुपियाँ लागतमा निर्माण भइरहेको बालकुमारीको प्रशोधन केन्द्रले एक करोड ७५ लाख लिटर प्रतिदिन प्रशोधन गर्नेछ । दुर्गन्ध न्यूनीकरण एकाइ जडित प्रशोधन केन्द्रले गट्ठाघर, बालकुमारी, मनोहरा क्षेत्रको फोहोर पानी प्रशोधन गर्नेछ । यसले ३।२ टन प्रतिदिन बायोग्यास उत्पादन गर्नेछ । फोहोर पानी प्रशोधनपछि नदी तथा खोलामा मिसाइने प्रवक्ता प्रजापतीले बताउनुभयो ।

 

सल्लाघारीमा निर्माण भइरहेको प्रशोधन केन्द्रले प्रतिदिन एक करोड ४२ लाख लिटर पानी प्रशोधन गर्नेछ । ६५ करोड ९६ लाख रुपियाँ लागतको यस केन्द्रले दैनिक तीन टन मल र बायोग्यास उत्पादन गर्नेछ । ९६ करोड दुई लाख रुपियाँ लागतमा निर्माण सुरु भएको धोबीघाट प्रशोधन केन्द्रले प्रतिदिन तीन करोड ७० लाख लिटर पानी प्रशोधन गर्नेछ । यसले दैनिक ३।८ टन मल उत्पादन गर्नुका साथै प्रतिघण्टा ३०५ किलोवाट विद्युत् उत्पादन गर्नेछ ।

 

धोबीघाटमै निर्माण भइरहेको अर्को प्रशोधन केन्द्रले दैनिक तीन करोड ७० लाख लिटर पानी प्रशोधन गर्नेछ । एक अर्ब ९६ करोड रुपियाँ लागतको यस केन्द्रले प्रतिघण्टा ३०४ किलोवाट बिजुली उत्पादन र दैनिक आठ टन मल उत्पादन गर्नेछ ।गोरखापत्र दैनिकमा खबर छ।