पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौँ, मङ्सिर ४। प्रहरीले २५ वर्ष पुराना अपराधका घटनाको समेत अनुसन्धान सुरु गरेको छ । एकपछि अर्को घटनाका अभियुक्त पक्राउ पर्ने क्रमसँगै प्रहरीले यसमा चासो देखाएको छ ।

डेढ दशकअघि २०६३ साल पुस २० गते सीतापाइलास्थित कान्तिपुर सःमिल काठका सञ्चालक मोरङ डाँगीहाटका नातिकाजी सुवेदी र उहाँकी श्रीमती सानु सुवेदीको धारिलो हतियार प्रहारबाट बीभत्स हत्या भयो भने जेठो छोरा विलभ घाइते भए ।

 

उक्त घटनामा सोही सःमिलका कामदार सर्लाही पिपरियाका जेके भन्ने जयकिशोर साह र दाङका प्रताप रानाको संलग्नता रहेको पहिचान खुले पनि प्रहरीले तत्काल पक्राउ पर्न सकेन । झन्डै १५ वर्ष पुरानो यो हत्या घटनाका मुख्य अभियुक्त साह गत असारमा नेपाल–भारत सीमा नाकाबाट पक्राउ परे ।

यस्तै २०५४ साल कात्तिक १६ गते जयवागेश्वरीमा काभ्रे पनौतीका १८ वर्षीय श्याम खड्काको कुटपिट तथा इँटा प्रहार गरी हत्या भएको थियो । सो हत्या घटनाका अभियुक्त रामेछाप खाँडादेवीका ध्रुव भन्ने मानकाजी श्रेष्ठ हत्या घटनाको २३ वर्षसम्म फरार थिए ।

 

आफ्नै सहकर्मी खड्काको हत्यापछि हुलिया परिवर्तन गरी बसेका श्रेष्ठको पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले २०७४ सालमा पक्राउ वारेन्टसमेत जारी गरेको थियो ।

 

नाम तथा हुलिया लुकाउँदै आए पनि अभियुक्त श्रेष्ठ यही कात्तिकको १९ गते ललितपुरको थसीखेलबाट पक्राउ परे । यी केही उदाहरण मात्रै हुन् । प्रहरीले यस्ता पुराना घटनामा समेत चासो राखेको छ र अनुसन्धान जारी राखेको पाइएको छ ।

पुराना जघन्य अपराधका यी तीन घटनाको विषयमा देख्ने, सुन्ने मात्र नभई पीडित परिवारले समेत बिर्सिसकेको अवस्था थियो तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई यस्ता घटनाको अनुसन्धानमा सफलता मिलेको पाइएको छ ।

 

प्रहरीको रेकर्डमा रहेका तर कतिपयले बिर्सिसकेका जघन्य अपराधका साथै ठगी, मानव बेचबिखन, वन्यजन्तु, बैङ्किङ कसुर सम्बन्धी घटनाको खोज तथा अनुसन्धान गर्दा अभियुक्त भटाभट पक्राउ पर्न थालेका छन् ।

सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुल थापा ब्युरोको जिम्मेवारी सम्हालेसँगै २५ वर्ष पुराना अपराधका घटनाको अनुसन्धान सुरु गरेको बताउनुभयो । ‘‘कतिपय घटना पीडितले समेत बिर्सिसकेका छन्” उहाँले भन्नुभयो, ‘‘तर प्रहरी निरन्तर अनुसन्धानमा
लागिपरेको छ ।

ब्युरो प्रहरीले वैशाख १२ गतेदेखि कात्तिक २७ गतेसम्म गरी २८ वटा अपराधका घटनाको सफल अनुसन्धान गरेको छ ।गाेरखात्पत्र दैनिकमा खबर छ।