सरकारको लोकप्रियताको डरले,अस्थिरता चाहनेहरुले मेरो राजीनामा मागेः प्रधानमन्त्री ओली

काठमाडौं,मंसिर ८। अहिलेकाे सरकारको लोकप्रियताको डरले आफ्नो राजीनामा मागिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान   सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्।उनले सरकारले काम गरेन भन्नेहरुलाई काम नपाएका र अस्थिरता चाहनेहरुको झुण्ड’को संज्ञा दिएका छन्।

 

देशको प्रगति हुन्छ भनेर आत्तिएकाहरुले मात्र आफ्नो राजीनामा मागेको भन्दै प्रधानमन्त्री ओलीले गुमेको जमिन फिर्ता गर्ने जस्ता लोकप्रिय काम गरेको सरकारले अरु विकास र समृद्धिका काम नगरोस् भन्न चाहनेहरुले आफ्नो राजीनामा मागेको आराेप लगाए ।

 

ताप्लेजुङको फक्तालुङ् गाउँपालिकाको वडा नं ६ लेलेपको दुर्गम स्थान घुन्सामा सोमवार आयोजित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन तथा स्थानीय समुदायसंगको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकप्रिय काम गर्ने सरकार रह्यो भने आफ्नो अस्थित्व समाप्त हुन्छ भन्ने पीरले कहिले पार्टी नेतृत्वबाट र कहिले सरकारबाट राजीनामा मागिएको उनले बताए।

 

‘तपाईहरु यहाँ राजनीतिककर्मी पनि हुनुहुन्छ होला, सत्ताको नेतृत्व गरिरहेको हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध पार्टीमा कहिले लिखित र कहिले मौखिक रुपमा प्रश्न पठाएर सरकार ढलिहाल्छ, केहि काम गर्न सकेन भन्ने जस्ता बिभिन्न लाल्छना आइरहन्छन्’ प्रधानमन्त्री ओलीले भने ‘त्यो सरकारको प्रगतिबाट आत्तिएका र केहि काम नपाएकाहरुबाट भएको ठाेकुवा गरे।

 

उनले सरकार कुनै पनि हालतमा नढल्ने भएकाले देश र जनताको पक्षमा काम गरिरहने दोहोर्‍याए। संक्षिप्त सम्बोधन गरेका उनले सरकारको पूर्णतया बचाउको कुरा गरेका छन्।

 

उनले बर्तमान सरकार जनताका पक्षमा निरन्तर र अडिग ढंगले चलिरहनेमा शंका नगर्न आग्रह समेत गरेका छन्।पार्टीभित्र आन्तरिक संघर्ष तीव्र बनिरहेका बेला प्रधानमन्त्री ओली ताप्लेजुङ र इलामका सीमा क्षेत्रको एकदिने भ्रमणमा गरेका छन्।

 

ओलीका साथ संबिधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेशकुमार भट्टराइ र १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राइ लगातको टोली घुन्सा आएको छ। त्यहाँ प्रधानमन्त्री ओलीले घुन्सा फाउण्डेसनद्धारा स्थापित वेभसाइट शुभारम्भ समेत गरेका छन्।

 

कार्यक्रममा ओलीलाई फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङको नेतृत्वमा रहेको स्थानीय टोलीले स्वागत गरेको थियो। प्रधानमन्त्री ओलीलाई फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष एभेङ र घुन्सालीकातर्फबाट स्थानीय अगुवा हिमाली चुङ्दाक शेर्पाले मागपत्र पनि बुझाएका छन्।

 

त्यसअघि प्रधानमन्त्री ओलीसहितको टोलीले ओलाङ्चुङगोला रहेको सशस्त्र प्रहरीको बिओपी केन्द्र, सीमावर्ती क्षेत्र टिपतालापास लगायतको हवाइ निरीक्षण गरेको थियो।