चीनका रक्षामन्त्री आज आउँदै: यस्तो छ ,नेपाल–चीन सम्बन्ध

काठमाडौं,मंसिर १४। चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एक दिवसीय भ्रमणका क्रममा आइतबार नेपाल आउँदै छन्। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उनको भ्रमण तालिका सार्वजनिक गरेको छ।

 

चिनियाँ जनमुक्ति सेनाको पूर्वरकेट फोर्स कमान्डरसमेत रहेका वेई चिनियाँ राष्ट्रपति सी जिङपिङले अध्यक्षता गर्ने केन्द्रीय सैन्य आयोगको मुख्य चारमध्येका एक सदस्य पनि हुन्।

 

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन्। उनी भ्रमण सकेर आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ।

 

उनी नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाठका अवसरमा नेपाल आउने भनिए पनि यो भ्रमण नेपालमा चिनियाँ उपस्थिति दर्साउन हुन लागेको कूटनीतिक क्षेत्रका जानकार बताउँछन्।

 

पछिल्लो समय नेपालमा भारतलगायत पश्चिमा मुलुकहरूको चासो बढ्दै गइरहेका बेला चीनले रक्षामन्त्रीलाई नेपाल पठाउन लागेको हो। भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले दुई दिवसीय भ्रमण सकेर फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षमन्त्रीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ।

नेपाल–चीन सम्बन्ध

नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका स्रङचङ गम्पोसँग भएपछि पारिवारिक नाता पनि जोडिएको हो ।

 

त्यसपछि १३औँ शताब्दीमा नेपालका कलाकार अरनिकोले चीनमा नेपाली प्यागोडा शैलीलाई चर्चित बनाउनुभएको थियो । बौद्ध धर्मावलम्बी राष्ट्रका रूपमा रहेको चीन गौतम बुद्धका कारण पनि नेपालसँग धार्मिक हिसाबले निकट छ ।

 

बुद्धभूमि नेपालमा हुनु र चीनको अत्यधिक जनसङ्ख्या बौद्धमार्गी हुनु महìवपूर्ण सम्बन्धको डोरी नै मानिन्छ । बुद्धले महापरिनिर्वाण प्राप्त गर्नुभएपछि उहाँको एक औँला चीनको एक प्रान्तमा अझै पनि भगवान्को अवशेषका रूपमा सुरक्षित रहेको विज्ञहरू बताउँछन् ।

 

प्राचीन चीनका जिन वंशजका चिनियाँ भिक्षु फा जियानको भ्रमण र टान वंशजका भिक्षु जुआन ज्याङको भ्रमणलाई नेपाल–चीन सम्बन्धमा इतिहासका उल्लेखनीय घटना मानिन्छ । नेपाल र चीनका सरकार प्रमुखबीच ऐतिहासिक कालखण्डमा ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास छ ।

दुई देशले सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्धलाई औपचारिकता दिएपछि द्विपक्षीय कूटनीतिक मर्यादामा रही सम्बन्ध अगाडि बढ्दै आएको छ । दुवै देशले आपसी सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य गर्दै आएका छन् ।

 

यसैगरी दुवै देशले एकअर्काको सम्मानलाई मुख्य रूपमा प्राथमिकता दिँदै आएका छन् । पछिल्लो ६५ वर्ष लामो आधुनिक सम्बन्धमा असल छिमेकीपनका साथ सुख–दुःखमा एकअर्काको साथमा रहँदै आएका छन् ।

 

नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर साँध सिमाना जोडिएको छ । त्यसलाई विभिन्न समयमा भएका सन्धि सम्झौताले सम्बन्धलाई सुमधुर बनाउँदै लगेको छ । व्यापारिक सम्बन्धतर्फ भने सन् १८५६ को थापाथली सन्धिअघि नै ल्हासामा नेपालका वकिल बस्थे ।

 

पछि चीनको स्वशासित क्षेत्रभित्र तिब्बत रहन थालेपछि सन् १९५६ देखि नै तिब्बतमा नेपालको महावाणिज्यदूत रहेको छ ।चीन विश्वको शक्तिशाली राष्ट्र बन्ने दिशामा अग्रसर छ । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री वाङ यीको उच्च स्तरीय भ्रमण नेपालमा भएको थियो ।

गत वर्ष उहाँहरूले नेपालको भ्रमण गर्नुहुँदा अब नेपाल–चीन सँगसँगै विकासको बाटोमा केन्द्रित हुने उद्घोष गर्नुभएको थियो । उहाँले सहमति र सम्झौता गर्नेभन्दा पनि कार्यान्वयनमा विशेष जोड दिएर अगाडि बढ्नुपर्ने औँल्याउनु भएको थियो ।

 

त्यसबेला नेपाल चीन विकासको नयाँ खाका कोर्दै २० वटा समझदारी पत्रमा दुई देशका राष्ट्रपतिले हस्ताक्षर गर्नुभएको थियो ।

अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नु हुँदा बहुआयामिक विकासका रूपमा रहेको बीआरआई परियोजनाको सदस्य बनेर विकास साझेदार बन्ने बाटो खुला गर्नुभएको थियो ।