सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

काठमाडौं,मंसिर १५ । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ८ घण्टे नेपाल भ्रमणमा आएका उनले विगतमा नेपालको राष्ट्र प्रमुखसँग चीनले गरेको द्विपक्षीय समझदारी कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको बताएका छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिँदै उनले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।

 

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’ उनले भने ।

 

२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आएका उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए । भेटका क्रममा झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थ आदान प्रदानका कार्यहरू फेरि सुरु गर्ने विषयमा छलफल गरेका छन् ।

भारतीय सुरक्षा निकाय र प्रशासनका प्रमुखको नेपाल भ्रमण बाक्लिएपछि चीनले नेपाल भ्रमणमा चासो देखाएको हो

 

सैनिक मुख्यालयमा भएको भेटवार्तामा कोरोना भाइरस कोभिड—१९का कारण रोकिएको सहयोग, सहकार्य र अभ्यासहरूलाई निरन्तरता दिने विषयमा सहमति भएको छ । दुई देशको सैनिकबीच हुने संयुक्त सैन्य अभ्यासको विषयमा भने मिति खुलाइएको छैन ।

 

त्यस्तै चिनियाँ रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा विगतमा भएको दुई देशबीचको द्विपक्षीय समझदारीको विषयमा छलफल भएको थियो ।

 

सन् २०१६ मा आफू चीन भ्रमणको क्रममा भएको व्यापार र पारवहन सम्झौता र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौताको विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै गत वर्ष नेपाल र चीनबीच द्विपक्षीय २० वटा समझदारीमा हस्ताक्षर भएको विषय कार्यान्वयनमा जोड दिइएको छ ।

 

त्यतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । गत वर्षको अक्टुबरमा भएको सम्झौतामा दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीका लागि संयन्त्र निर्माण गरिने उल्लेख छ ।राजधानी दैनिकमा खबर छ।