नक्कली चिकित्सकले जाँच्दा बिरामी मारमा, प्रशासन मौन: निजी स्वास्थ्य संस्थामा बेथिति

काठमाडौं,मंसिर १५। चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ ।

 

लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै आएको औषधि व्यवस्था विभागको अनुगमन टोलीले फेला पारेको छ ।

 

विभागको विराटनगर टोलीले गरेको अनुगमनका क्रममा हरिनारायणले आफ्नो नामका अगाडि डाक्टर लेखेर बिरामीको गलत तरिकाले उपचार गरेको प्रेस्क्रिप्सन फेला पारेको छ ।

 

बिरामीलाई ढाँटेर गलत उपचार गरेको पाइएपछि उक्त मेडिकल हल बन्द गराई उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए ।

 

उनका अनुसार फार्मेसी मेडिकल हल बाहेकलाई कारबाही गर्ने कानुनी अधिकार विभागसँग छैन । ‘चिकित्सा शिक्षा नै नपढी बिरामीको उपचार गर्ने व्यक्तिका हकमा प्रहरी प्रशासन र स्वास्थ्य कार्यालयले मात्र कारबाही गर्ने अधिकार राख्छ,’ कट्टेलले भने, ‘हामीले तत्काल लहान प्रहरी र प्रशासनलाई कैफियतसहित जानकारी गराएका छौं ।

 

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापाले भने गैरकानुनी ढंगले उपचार गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कारबाही गर्न नमिल्ने बताए ।

 

‘यो त जिल्ला स्वास्थ्य कार्यालयले हेर्ने विषय हो,’ उनले भने । विभागका प्रमुख कट्टेलका अनुसार आफूलाई डाक्टर भनेर चौधरीले बिरामीलाई उपचारका नाममा जथाभावी औषधि चलाउने गरेको पाइएको छ ।

 

चिकित्सा विषय नै नपढेका चौधरीले वर्षौंदेखि लहानको केन्द्रबिन्दुमा आफूलाई चिकित्सक भन्दै बिरामीलाई उपचार गरिरहँदा पनि प्रशासन मौन देखिनु विडम्बना भएको स्थानीय अजय यादवले बताए ।

 

‘चौधरीले लुकेर बिरामीको उपचार गरिरहेको भए पो,’ उनले भने, ‘डाक्टर भनेर लेटर प्याड नै छपाइएको छ । उनी त्यसैमा बिरामीलाई औषधिका नाम लेखिदिन्छन् ।

 

यादवका अनुसार सामान्य बिरामी हुँदा मानिस मेडिकल हल जान्थे । त्यहाँ चौधरीले जथाभावी औषधि चलाउँथे । त्यस्तो अवस्थामा तत्काल बिरामी निको भएको देखिए पनि दीर्घकालीन रूपमा भने स्वास्थ्यमा असर पर्ने देखिन्छ ।

 

साउन २३ गते बिहान जनकपुरको रामजानकी अस्पतालमा सुत्केरीको मृत्यु भयो । महोत्तरीको गौशाला नगरपालिका–११ की २१ वर्षीया गंगादेवी महतोको चिकित्सकले फरक समूहको रगत चढाउँदा रियाक्सन भएर मृत्यु भएको जनाइएको छ ।

 

‘सुरुमा बी पोजेटिभ रगत समूह भनेपछि हामीले सोहीबमोजिम रगत चढायौं,’ अस्पताल सञ्चालक सदस्य विकासचन्द्र गुप्ताले नागरिकसँग भने, ‘रगत चढाउनेबित्तिकै सुत्केरीलाई रियाक्सन भयो ।

 

डाक्टरले तुरुन्त रगत बन्द गरिदिए । समूह फरक पो प(यो कि भन्ने शंका लागेर पुनः रगत समूह जाँच गर्दा ओ पोजेटिभ पाइयो । फेरि रेडक्रसबाट क्रस चेक गराउँदा पनि ओ पोजेटिभ नै देखियो ।’ त्यसपछि ओ पोजेटिभ रगत चढाए पनि रियाक्सन भइसकेकाले गंगालाई बचाउन नसकिएको उनको भनाइ छ ।

 

सुत्केरीका आफन्त फरक समूहको रगत चढाउँदा बिरामीको मृत्यु भएको दाबीसहित अस्पतालमाथि कारबाही हुनुपर्ने माग राखेर केही दिन धर्ना बसे । पति राजकिशोर महतोका अनुसार सुत्केरी व्यथाले च्यापेपछि पत्नी गंगादेवीलाई रामजानकी अस्पतालमा भर्ना गरिएको थियो ।

 

डाक्टरले प्रसूतिका लागि शल्यक्रिया गर्नुपर्छ भनेपछि आफूहरू तयार भएको उनले बताए । ‘रगत बन्दोबस्त गर्न भनेपछि हामी रेडक्रस पुग्यौं,’ उनले भने । अस्पतालले दिएको रगतको नमुना लिएर रेडक्रस पुगेका महतो आफ्नो रगत शोधभर्ना दिएर बी पोजेटिभ रगत लिएर आए ।

 

रेडक्रसले नमुना जाँच गरेर सो रगत दिएको थियो । गंगाले छोरी जन्माइन् । घरमा लक्ष्मी आएकोमा राजकिशोर खुसी थिए । तर उनको खुसी लामो समय टिकेन ।

 

त्यही राति करिब ११ बजे पत्नी गंगादेवीलाई आइसियुमा लगेको थाहा पाएर राजकिशोर अत्तालिए । घरीघरी पत्नीको स्वास्थ्य अवस्थाबारे सोधिरहे । बिहान करिब ३ बजे डाक्टरले राजकिशोरलाई फरक समूहको रगत चढाइएकाले रियाक्सन भएको जानकारी दिए ।

 

‘ओ’ पोजेटिभ रगत ल्याउन निर्देशन भयो । राजकिशोरले तुरुन्त रगत ल्याए । ‘बेलाबेलामा औषधिका पुर्जा थमाउँथे, हामी ल्याउँथ्यौं,’ उनले भने, ‘रातभरि औषधि कति ल्यायौंल्यायौं, गन्ती नै छैन ।’

 

तर बिहान करिब ८ बजेतिर अस्पताल पक्षले गंगालाई बचाउन नसकेको जानकारी दिएको राजकिशोरले बताए । अस्पतालले रेडक्रसलाई र रेडक्रसले अस्पतालाई दोष देखाउँदादेखाउँदै घटना सेलाउन थालेको छ । यसले गर्दा दोषीउपर कारबाही र पीडित पक्षलाई न्याय हुने कुरा शंकाको घेरामा परेको छ ।

 

मंसिर ६ गते सुत्केरी व्यथाले च्यापेपछि सुखीपुर नगरपालिका–९ बैसखाकी २७ वर्षीया आरती साहलाई लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगियो । सोही साँझ चिकित्सकले उनको शल्यक्रिया गरे । त्यसको केही घण्टामै आरतीको मृत्यु भयो ।

 

अत्तालिएका चिकित्सक पेट नसिलाईकनै फरार भए । आरतीलाई पति प्रमोदसहित परिवारका अन्य सदस्यले सुत्केरीका लागि डिभाइन अस्पताल लगेका थिए । केही घण्टापछि शल्यक्रियाका लागि परिवारको मन्जुरी मागियो ।

 

ढिला गरे जे पनि हुन सक्ने भनेर अत्याएपछि पति प्रमोदले मन्जुरी दिए । ‘हामीले राम्रोका लागि मन्जुरी दिएका थियौं, मार्न होइन,’ प्रमोदले भने, ‘सुरुदेखि नै हामीले बाहिर लग्नुपर्ने भए भन्नुस् भनिरहेका थियौं ।

 

आरतीका दाइ राजेशकुमार साहले ‘ढुक्क हुनुस् केही हुँदैन’ भन्दै डाक्टरले विश्वस्त तुल्याएको बताए । पेट खोलेर बच्चा निकाले केही हुन्न भन्दै अप्रेसन कक्षमा लगेका थिए । केहीबेरमै डाक्टर निस्केर बेपत्ता भए ।

 

‘हेर्दाहेर्दै एकएक सबै स्वास्थ्यकर्मी–कर्मचारी भागे । दौडेर शल्यक्रिया कक्षमा पुग्दा बाहिरबाट ताल्चा लगाइएको थियो,’ उनले भने, ‘भित्र रगतमा लतपतिएको अवस्थामा बहिनीको शव थियो ।

 

उनीहरूले प्रहरीलाई बोलाए । प्रहरी आए पनि दोषीलाई पक्राउ गरेर निसाफ दिलाउन नसकेको गुनासो पीडित पक्षको छ । ‘हाम्रो जाहेरी दर्ता त भयो तर दोषी कोही पनि पक्राउ परेका छैनन्,’ प्रमोदले भने, ‘डाक्टरलाई पक्राउ गर्न मिल्दैन भनेर उल्टै हामीलाई हप्काएर चुप लगाइयो ।’ दोषी डाक्टर र अस्पतालमाथि कारबाही हुनुर्ने, आफूहरूलाई क्षतिपूर्ति दिनुपर्नेलगायत माग पीडित पक्षको छ ।

 

लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवका अनुसार लहानमा सञ्चालित कुनै पनि निजी अस्पतालको नवीकरण भएको छैन । ‘नवीकरणबिना सेवा सञ्चालन गर्नु गैरकानुनी हो,’ उनले भने, ‘यस्ता संस्थाहरू स्वास्थ्यसम्बन्धी विवरणसमेत बुझाउँदैनन् ।

 

डिएसपी थापाले घटना सही भए पनि, पीडितबाट जाहेरी आए पनि डाक्टरलाई पक्राउ गरेर कारबाही चलाउन नमिल्ने बताए । ‘डाक्टरको मुद्दा प्रहरीले होइन, अरू निकायले नै हेर्ने हो,’ उनले भने ।

 

लहानमा सञ्चालित डिभाइन मात्र नभई सोही अस्पताल टाँसिएका कामना, फ्रेन्ड्सलगायत वर्षौंदेखि नवीकरणबिना नै सञ्चालनमा छन् । नियामक निकायसँगको सेटिङमा सिरहामा १५ शड्ढयाका आठवटा अस्पताल बिनादर्ता अवैध रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ । ती अवैध अस्पतालहरू जिल्लाका लहान, गोलबजार र मिर्चैयामा सञ्चालतमा छन् ।

 

गत पुस १८ गते लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भयो । सो घटना छानबिन गर्न प्रशासनद्वारा गठित टोलीको प्रतिवेदनले डाक्टर र अस्पताल पक्षको लापरबाही ठहर ग¥यो ।

 

सप्तरीको बलानबिहुल गाउँपालिका–३ की संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहियाकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुर घर भई लहान नगरपालिका–१९ स्थित माइतीघरमा बस्दै आएकी जानकी यादवले चिकित्सकको लापर्बाहीका कारण आफ्ना शिशु ९छोरा० गुमाएका थिए ।

 

समितिले प्रमुख जिल्ला अधिकारीलाई माघ २ गते छानबिन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार शल्यक्रियामा संलग्न डा। सुनिल बिराजीले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नगरेको खुलेको थियो ।

 

‘पीडित पक्षले दिएको जाहेरीअनुसार इलाका प्रहरी कार्यालय लहानले इजलाससम्बन्धी महलमा मुद्दा दर्ता त ग(यो तर प्रहरीले अहिलेसम्म प्रतिवादीहरूलाई पक्राउ गर्न सकेको छैन । पीडित पक्षले जाहेरी दिएलगत्तै डा। बिराजी फरार छन् । बाँकी प्रतिवादी लहानमै भए पनि प्रहरीको उदारताका कारण पक्राउ परेका छैनन् ।

 

स्वास्थ्य क्षेत्रमा बढ्दो बेथितिका कारण जोखिममा पर्दै गएको मानवजीवनका उल्लिखित घटना प्रतिनिधि मात्र हुन् । नियामक निकायसँगको सेटिङमा सञ्चालित यहाँका निजी स्वास्थ्य संस्थामा यस्ता घटना पटकपटक दोहोरिएका छन् ।

 

ज्यानै जाने घटनापछि निजी स्वास्थ्य संस्थाले पीडित पक्षलाई कानुनी कारबाहीबाट रोक्न आर्थिक लेनदेन गरेर मिलाउने गरेको स्वास्थ्य क्षेत्रका जानकार बताउँछन् ।

 

आफ्नो गल्ती लुकाउन निजी स्वास्थ्य संस्थाले घटनालगत्तै पीडित र उजुरी सुन्ने निकायलाई आर्थिक प्रलोभनमा पारेर मिलापत्र गराउने गरेको उनीहरूको भनाइ छ ।नागरिक दैनिकमा खबर छ।