नेकपा बैठक सकियो,अध्यक्ष ओलीको प्रतिवेदनमा धारणा राख्ने क्रम जारी ,भोलि फेरि बैठक बस्ने

काठमाडौं,मंसिर १६।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । ६२ वर्षमा प्रवेश गरेका पौडेललाई नेताहरुले केक खुवाएर शुभकामना दिएका थिए।

 

दिउसो १ बजेदेखि सुरु भएको बैठक झण्डै ३ घण्टा चलेको थियो । आजको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावमाथि नेताहरुले धारणा राखेका छन् ।

 

नेकपा सचिवालयमा पत्रमार्फत् जवाफ दिने सिलसिला जारी छ । गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र बुझाएका थिए ।

 

ओलीले बैठक नडाकी कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए । त्यसको प्रत्युत्तरमा प्रचण्डले २८ गते अर्को पत्र बुझाएका थिए । त्यसको जवाफमा मंसिर १३ गते सचिवालय बैठकमा ओलीले अर्को ३८ पृष्ठको दस्तावेज पेश गरेका थिए ।