कुकुर दर्ता नगरे कारबाही

सांकेतिक तस्विर

काठमाडौँ, मङ्सिर १८ । काठमाडौँ महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ ।

घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागेको हो । महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारबाहीसमेत गर्ने भएको छ ।

कुकुरधनी माथि निगरानी

काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ । ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर यसो नगरिदिन अनुरोध गर्दै आएको छ ।

महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरपालिकाले पहिलो चरणमा सचेतना कार्यक्रम तीव्र बनाएको छ । सचेतनासँगै काठमाडौँ महानगरमा छाडा कुकुरको घाँटीमा हरियो रङको पेटी बाँध्न थालिएको छ ।

कुकुरको बन्ध्याकरण

महानगरपालिकाको पशु व्यवस्थापन महाशाखाले महानगरमा रहेका २२ हजार यस्ता कुकुरको बन्ध्याकरण गरिसकेको छ । महाशाखा प्रमुख डा। अवधेश झाका अनुसार अब बाँकी करिब पाँच हजार कुकुरको बन्ध्याकरण थालिएको छ ।

हालै वडा नं ३१ मा बन्ध्याकरण कार्य सकिएको छ । उहाँले अबको छ महिनाभित्र सबै छाडा कुकुरको बन्ध्याकरण सक्ने र नियमित रेबिज विरुद्धको सुई दिने व्यवस्था महानगरपालिकाले गरेको बताउनुभयो ।

महानगरपालिका–७ का सदस्य कृष्णमणि भट्टराईका अनुसार छाडा गाई, गोरु र बहरका सन्दर्भमा भने कान्जी हाउसको व्यवस्था र मलमूत्रको प्राङ्गारिक मल उपयोग गर्ने सोचिएको छ ।गोरखापत्र दैनिकमा खबर छ।