दार्शनिक फाँटमा दार्शनिक  सिध्दान्त: आदर्शवाद र भौतिकवाद

    – हस्तबहादुर केसी 

” दर्शनशास्त्रको सम्पूर्ण इतिहास दुई परस्पर विरोधी स्कुलहरु आदर्शवाद र भौतिकवादबीच संघर्ष र विकासको इतिहास हो। सबै दार्शनिक धाराहरु र स्कुलहरु यी दुई आधारभूत स्कुलका अभिव्यक्तिहरु हुन् ।”      – माओ त्सेतुङ 
 
       
दर्शन मानिसको भित्री आँखा हो , जुन आँखाले विश्वब्रह्माण्डलाई हेर्ने , बुझ्नेे र बदल्ने उसको दृष्टिकोणमा मद्दत गर्दछ । तसर्थ दर्शनले मानिसको विश्वदृष्टिकोण पैदा गर्दछ ।
 
त्यसैले दर्शन मानिसको आफ्नो विश्वदृष्टिकोण हो । विना दृष्टिकोण र विना विचारको मानिस नै हुदैन । त्यसैले एउटा सही भनाई छ , ” दृष्टिकोण नभएको मानिस जरा नभएको रुख ” जस्तै हो । 
     
दर्शन भनेको एउटा विश्वदृष्टिकोण हो , अर्थात् विश्वलाई हेर्ने एउटा दृष्टिकोण हो । त्यो विज्ञानको त्यस्तो शाखा हो , जसले प्रकृति , समाज र मानवीय चिन्तनको विकासका नियमहरुको अध्ययन गर्दछ ।
     
तसर्थ  दर्शन भनेको सैध्दान्तिक ज्ञानको त्यो रुप हो , जसले विश्वदृष्टिकोण सहित प्रकृति र समाजलाई हेर्ने दृष्टिकोण सहित सम्बन्धित सामान्य सवालहरुको विश्लेषण र व्याख्या प्रस्तुत गर्दछ ।
 
साथै दर्शनले प्रकृति र समाजको विकास कुन ढंगबाट हुने गर्दछ , ऐतिहासिक विकासका मूल कारण र प्रेरक शक्तिहरु के हुन् , हाम्रो यश संसारलाई कुन रुपमा बुझ्न र फेर्न सकिन्छ – यी र यश प्रकारका सवालहरुबारे चर्चा गर्दछ ।
       
जहाँसम्म दर्शनको कार्यभारको सवाल छ , सामान्य र सार रुपमा भन्ने हो भने त्यसको मुख्य काम हो जुन विद्यमान छ , जुन यथार्थता छ , त्यसलाई जान्नु र त्यसको व्याख्या प्रस्तुुत गर्नु । यश अतिरिक्त अतितको व्याख्या , वर्तमानको विश्लेषण तथा विकास – दिशा र भविष्यको पूर्व सूचना प्रदान गर्न त्यसले प्रयत्न गर्नु पर्छ ।
         
वास्तवमा विश्व यथार्थताको विशद व्याख्या प्रस्तुत गरि त्यसको वास्तविक सारलाई खुलस्त पार्ने कार्यभार दर्शनको हो  । र , एक साँच्चिकै वैज्ञानिक दर्शनले सो काम गर्नु पर्छ र गर्न सक्छ । तर वर्गीय समाजमा दर्शन वर्ग दर्शन मात्र रहन्छ ।
 
जुन समाज वर्गहरुमा विभाजित रहेको हुन्छ , त्यसमा पाइने विभिन्न दार्शनिक सिध्दान्तहरुले विभिन्न वर्गहरुको हित र दृष्टिकोणको रुपमा दर्शनले सो वर्गको आधारभूत हितलाई सैध्दान्तिक न्यायोचितता प्रदान गर्दछ । 
 
सो हित अनुरुप विश्वकोो व्याख्या प्रस्तुत गर्दछ । साथै सो वर्षको स्वार्थ अनुकूल संसार फेर्ने प्रयासलाई निर्देशक सिध्दान्त प्रदान गर्दछ । यसमा नै दर्शनको मूल कार्यभार रहेको हुन्छ  र सो काममा नै त्यसको सामाजिक भूमिका हरन्छ।
 
       
दर्शनको बारेमा चर्चा गरिरहदा एउटा के कुरा आवश्यक हुन्छ भने दर्शनको अध्ययन किन गर्नुपर्ने ? त्यसबाट हामीलाई के फाइदा हुन्छ ? अथवा दर्शनले हामीलाई कुन कुरा फाइदा गर्छ ? आदि कुरा गरिरहदा यश प्रकारका कुरा गर्नमा एउटा मुख्य कारण के हो भने दर्शन यस्तो चीज हो , जसले हामीलाई सैध्दान्तिक ढंगले कसरी सोच्ने ?
 
 
सैध्दान्तिक धरातलमा उभिएर परिघटनाहरुलाई कसरी हेर्ने ? भन्ने कुरा सिकाउछ । जस्तो कि कलाले हामीलाई नयाँ नयाँ कुराहरूको सृजना गर्ने क्षमता अर्थात् सिर्जना शक्ति प्रदान गर्छ र विचारमा खिया लाग्नबाट जोगाउँछ भने दर्शनले हामीलाई चीजहरुबारे बोध गर्ने शक र युक्तिसंगत ढंगले सोच्ने सामर्थ्य प्रदान गर्दछ ।
     
 
तसर्थ युक्तिसंगत चिन्तन गर्ने सामर्थ्य मानिसको लागि अति आवश्यक छ भन्ने शायद बताइरहनु पर्दैन । किनकि  राम्ररी सोचविचार नगरिकन काम गर्दा हामीले न‍ोक्सानी हुने कुरा संवत: स्पष्ट छ ।
       
यसरी दर्शनकाबारेमा चर्चा गरिरहदा महत्वपूर्ण सवाल के हो भने संसारमा धेरै प्रकारका दर्शनहरु छन्  । ती मध्ये मुख्यतः दुईवटा दर्शन रहेका छन् – ती हुन् आदर्शवाद र भौतिकवाद ।
     
ल  हरेक चीजलाई हेर्ने निश्चित सिध्दान्त हुन्छ । यहाँ दर्शनलाई हेर्ने पनि निश्चित सिध्दान्त छ ।
         
अर्थात् दार्शनिक फाँटमा दार्शनिक सध्दान्त रहेको छ । दार्शनिक फाँट र दार्शनिक प्रणालीभित्र दार्शनिक सिध्दान्त दुई भिन्न सिध्दान्तमा आधारित छन् , जस्तै , आदर्शवाद र भौतिकवाद ।अर्थात् दार्शनिक सिध्दान्त : आदर्शवाद र भौतिकवाद ।
  
आदर्शवाद : 
     
भौतिक तत्वलाई निषेध गरि आत्मिक वा अलौकिक तत्वलाई प्राथमिकता दिने सिध्दान्तको नाम आदर्शवाद हो । आदर्शवाद प्रारम्भदेखि आजसम्म प्रतिक्रियावादी वर्गको दार्शनिक सिध्दान्त रहिआएको छ ।
       
आदर्शवाद एक यस्तो दार्शनिक सिध्दान्त हो जसले आत्मा , विचार , संकल्प वा ईश्वरलाई प्राथमिक मान्दै त्यसैबाट पदार्थ वा प्रकृतिको जन्म भएको हो भन्ने कुरा स्वीकार गर्छ । तसर्थ विचार , आत्मा वा आदर्श जस्तो अभौतिक तत्वलाई प्राथमिक मानेकोले त्यस सिध्दान्तको नाम आदर्शवाद रहन गयो ।
     
अझै यसलाई स्पष्ट पार्न आवश्यक हुन्छ । चिन्तन आत्मा , ईश्वर जस्ता कुरालाई प्रधान मान्ने र पदार्थ ज्ञेय छ भन्ने दार्शनिक सिध्दान्तलाई आदर्शवाद वा आध्यात्मवाद भनिन्छ ।
     
अझै यहाँ के कुरा स्पष्ट हुन जरुरी छ भने आदर्शवादका पनि दुई हाँगा छन् – वस्तुनिष्ट आदर्शवाद र व्यक्तिनिष्ट आदर्शवाद ।
       
मानिसको आत्मा वा चेतना भन्दा बाहिरको कुनै सामान्य आत्मा , चेतना वा ईश्वरको अस्तित्वलाई प्राथमिक मान्नु वस्तुनिष्ट आदर्शवाद हो । दार्शनिक प्लेटो र हेगेल वस्तुनिष्ट आदर्शवादी चिन्तक हुन् ।
 
     
जुन दर्शनमा व्यक्तिगत आत्मा , मन , संवेदना , संकल्प , विचार , अनुभव आदिलाई प्राथमिकता दिइन्छ त्यस्को नाम व्यक्तिनिष्ट आदर्शवाद हो । दार्शनिक बर्कले , फिक्टे , , नित्से , माख व्यक्तिनिष्ट आदर्शवादी चिन्तक हुन् ।
 
    भौतिकवाद : 
         
भौतिक तत्व वा पदार्थलाई प्रथम र चेतनालाई द्वितीय स्थानमा राख्ने सिध्दान्तलाई भौतिकवाद भनिन्छ। भौतिकवादले प्रारम्भदेखि प्रगतिशील तथा अग्रगामी वर्गहरुको सेवा गर्दै आएको छ ।
       
आदर्शवादको उल्टो जुन सिध्दान्तमा ईश्वर वा कुनै सृष्टिकर्ताको निषेध गर्दै सत्ता अर्थात् विश्व , प्रकृति , पदार्थ वा वस्तुगत संसारलाई प्राथमिक दर्जामा राख्ने र त्यसैबाट चिन्तनको जन्म हुने कुरा स्वीकार गरिन्छ त्यसको नाम भौतिकवाद हो  । साथै सत्ता , वस्तु , प्रकृति , विश्व ब्रह्माण्ड आदि प्रधान हुन् र यी सबै ज्ञेय छन् भन्ने दार्शनिक सिध्दान्त भौतिकवाद हो ।
     
चार्वाक, साङ्ख्य दर्शन , हेरेक्लाइटस , डेमोक्राइटस , लाओत्से , बेकन , फायरवाख , कार्ल माक्र्स भौतिकवादी दार्शनिक हुन् ।
       
दार्शनिक प्रणालीभित्र केही यस्ता दार्शनिक चिन्तनहरु छन् जसले चिन्तन र सत्ता , आत्म र प्रकृति , चेतना र पदार्थलाई समानान्तर रुपमा प्राथमिक मान्ने , तिनमा समन्वय कायम गर्ने वा आफूलाई तटस्थ देखाउने गर्दछन् , तिनको दार्शनिक सिध्दान्तलाई द्वैतवाद , समन्वयवाद वा तटस्थवाद भनिन्छ ।
 
आकृति र पदार्थलाई समानान्तर ढंगले ग्रहण गर्ने अरस्तु , ईश्वर र प्रमाणु दुबैलाई प्राथमिक मानेर चल्ने न्याय – वैशेषिक , पुरुष र प्रकृतिको द्वैत अंगीकार गर्ने पछिल्लो कालको साङ्ख्य दर्शन , आफूलाई तटस्थ देखाउने गौतम बुध्द र तमाम प्रकारका प्रत्यक्षवाद , व्यवहारवाद आदि यश धारा भित्र पर्दछन् ।
       
दार्शनिक प्रणाली भित्रका दार्शनिक सिध्दान्तका माथि उल्लेखित यी दुई प्रमुख धाराहरुभित्र अरु तीन प्रकारका सिध्दान्तहरु पनि जो सहेका छन् तिनलाई यहाँ अझै स्पष्ट पार्न जसरी हुन्छ कि ती मध्ये चिन्तन र सत्ता , आत्मा र प्रकृति र चेतना र पदार्थ दुबै प्रमुख हुन् भन्ने दार्शनिक सिध्दान्तलाई द्वैतवाद भनिन्छ ।
     
यी दुई विपरीत धाराहरुका बीच समन्वय कायम गर्न चाहने सिध्दान्तलाई समन्वयवाद भनिन्छ । र यी दुई भिन्न धाराहरुका बीचका सिध्दान्तहरुले अन्ततः आदर्शवादको सेवा गर्न पुग्दछन् ।
     
यहाँ विश्वलाई हेर्ने दृष्टिकोणका बारेमा केही चर्चा गर्न आवश्यक हुन्छ । विश्वलाई ज्ञेय अर्थात् बोधगम्य मान्ने चिन्तनको सम्बन्ध भौतिकवाद र अज्ञेयवादको सम्बन्ध आदर्शवादसंग रहेको छ । दार्शनिकहरु ह्युम र काण्टले विश्वलाई अज्ञेय मान्दछन् । तर तमाम भौतिकवादीहरु र विशेषतः कार्ल माक्र्सद्वारा विश्वलाई बोधगम्य मानिएको छ ।
   
यश विषयमा हामी यो निष्कर्षमा पुग्दछौ कि संसारलाई ज्ञेय र अज्ञेय मान्ने चिन्तन ज्ञानसिध्दान्तसंग सम्बन्धित रहेको छ । यश विषयमा हामी ज्ञानसिध्दान्तको मौलिक प्रश्नसंग सम्बन्धित रहेर चर्चा गर्न सक्छौ ।
 
के मानिसको मष्तिष्कमा वस्तुगत जगत प्रतिबिम्बित हुन सक्छ ? के मानिसको चेतनाले भौतिक संसारलाई प्रतिबिम्बन गर्ने सामर्थ्य राख्तछ ?  के विश्व बोधगम्य छ ? के मानिसले संसारलाई बुझ्न र बदल्न सक्छ ? यी चिन्तन र सत्ताक‍ो एकरुपतासित सम्बन्धित प्रश्न हुन् । यो नै ज्ञानसिध्दान्तसंग सम्बन्धित दर्शनशास्त्रक‍ो मौलिक प्रश्न हो ।
     
 
दर्शनशास्त्रको फाँटमा जसले यी प्रश्नहरुको सकारात्मक जवाफ दिन्छन् ती भौतिकवादी हुन् । यसको उल्टो जसले यी प्रश्नहरुक‍ो नकारात्मक जवाफ दिन्छन् ती अज्ञेयवादको श्रेणीमा पर्दछन् । अज्ञेयवादले वस्तुको सारतत्वलाई बोधगम्य मान्दैन ।
 
 
यो धाराभित्र यो स्थितिमा अज्ञेयवादीहरुका लागि विश्वलाई बुझ्ने र बदल्ने कुरा सम्भव हुदैन । द्वन्द्वनत्मक भौतिकवादी मान्यता अनुसार संसार बोधगम्य छ । ठिक त्यसैले संसार र समाजका नियम पनि बोधगम्य छन् ।
     
दार्शनिक सिध्दान्त जस्तो बृहत विषय यश सानो आलेखमा अटाउन संभव भएन । फेरि अर्को  ठाउँमा चर्चा गरिनेछ । आजलाई यत्ति मात्र ।
 
 मिति : १९ पुस २०७७
 
 बुढानिलकण्ठ न.पा. – २ , काठमाडौं । 
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।