विद्यार्थीलाई परीक्षाबाट वञ्चित गर्ने नेशनल मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोग र आइओएमले कारबाही गर्ने

काठमाडौं,पुस २७। वीरगन्जस्थित नेसनल मेडिकल कलेजले विद्यार्थीलाई गैरकानूनीरूपमा परीक्षाबाट वञ्चित गरेको भन्दै चिकित्सा शिक्षा आयोग र इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)ले कारबाही गर्ने भएका छन् ।

 

सोमबार सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिन गएका विद्यार्थी रामजीलाई कलेजले गैरकानूनी रूपमा परीक्षा हलबाटै निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आइओएमले कलेजलाई कारबाही गरिने जनाएको हो ।

 

चिकित्सा शिक्षा आयोगले आइतबार मात्रै सरकारी छात्रवृत्तिमा पढिरहेका रामजीको सबै शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसक्दा पनि उनलाई परीक्षामा सामेल नगरेकाले कलेजलाई कारबाही गरिने आइओएमका डिन डा. दिव्या सिंहले जानकारी दिइन् ।

 

रामजी सरकारी छात्रावृत्तिमा एमबिबिएस अध्ययन गर्दैछन् । २०७२ सालमा सरकारले वादी, डोम, मुसहर र चमार गरी चार समुदायकालाई पैसा तिरेर पढाउने भनेपछि रामजी पनि सोही अनुरूप छात्रवृत्ति पाएर नेसनल मेडिकल कलेजमा भर्ना भएका थिए ।

 

अहिले पाँचौं वर्षमा रहेका उनले गत वर्ष नै पैसा अभावका कारण नियमित परीक्षा दिन पाएका थिएनन् ।

 

यसपटक भने उनले विभिन्न मानिसबाट सहयोग उठाएर होस्टल र मेस शुल्क बापत कलेजलाई ८ लाख ११ हजार पाँच सय रूपैयाँ बुझाएका थिए ।तर कलेजले थप ७ लाख ५० हजार १३१ रूपैयाँ तिर्नुपर्ने भन्दै उनलाई परीक्षा दिनबाट वञ्चित गरेको छ।