यातायात व्यवस्था विभागले बिहीबारबाट लाइसेन्समा कोटा प्रणाली हटाउदैं

काठमाडौं,पुस २८। यातायात व्यवस्था विभागले बिहीबारबाट सवारीसाधनको अनुमतिपत्र अनलाइन फारम कोटा प्रणाली हटाउने भएको छ।

 

अनलाइन फारम नखुल्ने कोटा प्रणाली हुँदा सेवाग्राहीको सधैँ गुनासो हुने गरेकाले यसलाई सम्बोधन गर्न विभागले फारम भर्न कुनै बन्देज नराखी प्रणाली विकास गर्न लागेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सातवटै प्रदेशमा लागू हुनेगरी सवारी अनुमतिपत्र अनलाइन फाराममा रहेको कोटा प्रणाली हटाउने छौं, सम्भवतः यसै साताबाट यसबाट अनुमतिपत्रको लागि आवेदन दिन चाहने सबै सेवाग्राही लाभान्वित हुने छन् ।

 

तर, विभागले लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा भने कोटा तोकेरमात्र सेवाप्रवाह गर्ने विभागले जनाएको छ । सवारी चालक अनुमतिपत्र दिने कार्यालयहरूको कार्यक्षमताको आधारमा विभागले लिखित परीक्षा र प्रयोगात्मक परीक्षा गर्ने गरी आन्तरिक तयारी गरेको विभागको भनाइ छ ।

नौ महिनापछि सवारीचालक अनुमतिपत्रको लागि पुस १४ अनलाइन फारम खुला गरिएको थियो । तर, लामो समयपछि फारम खोलिएकाले गर्दा सेवाग्राहीको अत्याधिक चाप परेसँगै विभागको सर्भर नै डाउन हुने गरेको छ ।

सेवाग्राहीको चापलाई सम्वोधन गर्नको लागि विभागले प्रतिसेकेन्ड १ हजारले फारम भर्न सक्ने गरी वेबपेज र सर्भर अपग्रेड गरिरहेको विभागले जनाएको छ ।

 

वेबसाइटको स्तरोन्नतिसिँगै लोड सन्तुलनका लागि विभागले काम सुरु गरिसकेकोले गर्दा आगामी दिनमा धेरै प्रयोगकर्ताहरूले एकैपटक सेवा लिन सक्ने गरी विभागले सर्भरको क्षमता वृद्धि गरिरहेको हो ।

विभागले सूचना प्रविधि केन्द्रसँगको सहकार्यमा विभागको सफ्टवेयर विकासकर्तासँग मिलेर सर्भरलाई स्तरोन्नति गरिरहेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारले ०७६ चैतदेखि सवारी चालक अनुमतिपत्रको फारम, प्रयोगात्मक परीक्षा बन्द थियो ।

 

उपत्यकामा ४ सहित देशभर विभागका १७ ओटा कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गर्दै आएको छ ।कारोबार दैनिकमा खबर छ।