भक्तपुरमा जग्गा हेर्ने भन्दै लुटपाट गरि हत्या गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं,माघ ४ । भक्तपुरमा जग्गा हेर्ने बहानामा व्यक्तिलाई कुटपिट गरी लुटपाटपछि फरार रहेका एकजना अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२, टिमुरेका माइला भनिने ४२ वर्षीय सोनाम तामाङ हुन् । तामाङ सो घटनाको मुख्य योजनाकारमध्ये एक रहेको प्रहरीले जनाएको छ ।

 

उक्त घटना अनुसन्धान गर्ने क्रममा महाशाखाले ‘अपरेसन रक्स’ सञ्चालन गरेको थियो । घटनामा संलग्न व्यक्तिहरुमध्ये कामी लामा, रमेश तामाङ र प्रेम तामाङ यसअघि नै पक्राउ परेका थिए । उनीहरु भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनुवामा रहेको प्रहरीले जनाएको छ ।

 

गएको असोज २१ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडाल बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जनलाई कुटपिट गरी लुटिएको थियो । उनको उपचारका क्रममा ग्रीन सिटी अस्पतालमा मृत्यु भयो ।

 

त्यसदिन योञ्जनको पसलमा दुईजना अपरिचित व्यक्तिहरु पुगेका थिए । उनीहरुले वियर सेवन गरे । ‘आफन्तलाई जग्गा चाहिएको छ’ भन्दै योञ्जनलाई जग्गा हेर्न भनी पसलभन्दा करिब एक किमि पर विडोलफाँटस्थित धानखेतमा पुर्‍याए । त्यहाँ उनीमाथि कुटपिट गरे र उनको साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइलसमेत लुटेर फरार भए ।

 

सोही घटनामा संलग्न तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ  गरेकाे हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काभ्रेको धुलिखेल नगरपालिका–१, मयुरपार्कबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।तामाङलाई आवश्यक कारबाहीका लागी महानगरीय प्रहरी वृत्त जगाती पठाइएको छ ।