कांग्रेसले स्थानीय तहका सबै वडामा आज प्रदर्शन गर्दै

काठमाडौं,माघ ८। नेपाली कांग्रेसले आज देशभरका स्थानीय तहका सबै वडामा प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा प्रदर्शन गर्न लागेको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।

 

पुस १९ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय अनुसार आज ६ हजार ७ सय ४३ वटै वडामा प्रदर्शन गर्न लागेको हो । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गरिसकेको छ ।

 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तोक्नुभएको छ । त्यसपछि कांग्रेसले विघटनको विरोधमा प्रदर्शन गर्दै आइरहेको छ ।

 

विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । कांग्रेस सभापति देउवाले अदालतको फैसला मान्ने बताउँदै आउनुभएको छ । विचाराधीन मुद्दामा नबोल्न र विघटन सर्वोच्चले सदर गरे चुनावका लागि तयार रहन पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभएको छ । देउवाले आजकोविरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।