नेपाल–दाहालले सिनेमा देखाइरहेका छन्: ओली

काठमाडौं,माघ ९। नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र पुष्पकमल दाहालबीचको सम्बन्ध सिनेमा जस्तो भएको बताएका छन्।

 

ओलीले आफू निकट नेपाल प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपाल–दाहाल समूहले जनतालाई सिनेमा देखाइरहेको बताए। ‘केही मान्छे फिलिम देखाउन आउँछन्। सिनेमामा के हुन्छ र? हिरो हुन्छ। हिरोइन हुन्छ लभ पर्‍या छ। हिरोइन घाइते हुन्छे। हिरो व्याकुल पर्छ। तर केही पनि होइन,’ उनले भने।

 

ओलीले संसद्लाई फेरि पनि सांसद किनबेचको थलो बनाउन खोजिएकाले आफूले प्रतिनिधिसभा विघटन गरेको बताए। उनले आफूले वामपन्थीसँग एकता गरेर मुलुकलाई समृद्ध बनाउने प्रयास गरेको भए पनि सफल हुन नदिइएको बताए।

 

‘मैले लेफ्ट पार्टी जोडेर भौगोलिक अखण्डताको रक्षा गर्ने प्रयास गरेको हो, स्वाभिमान माथि उठाओस् र देशको विकासमा योगदान गरोस् भन्ने चाहेको हो।

 

त्यस्तो पार्टीको परिकल्पना गरेको थिएँ तर पार्टी देखिहाल्नु भयो। एक दिन एउटा राम्रो कामको प्रशंसा गर्न नसक्ने हुतिहारा, देशका निम्ति मर्ने होइन, आफन्तका निम्ति मर्ने,’ ओलीले भने। उनले नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालप्रति अक्रोस पोख्दै देशभरका सबै केटाकेटी आफ्नै लाग्ने बताए।

 

दाहालप्रति लक्षित गर्दै ओलीले आफ्ना कोही छोरीलाई मेयर बनाउनुपर्ने र घर किन्नुपर्ने आवश्यकता नभएको बताए। ‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त ज्वाइहरू छैनन्, छोरी मेयर बनाउनै पर्‍यो, नजिते मतपत्र च्यात्नै पर्‍यो, ज्वाइलाई घर किन्दिनै पर्‍यो, मलाई सन्चै छ, यो देशका सबै केटाकेटीलाई आफ्नै ठान्छु, उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरूका छोराछोरी छन् कि छैनन्?

 

लड्ने बेलामा अरूका छोराछोरी चाहियो, आफ्ना छोराछोरीलाई विदेशमा पढाउने अरूका छोराछोरीको पनि ज्यान हो, त्यो काठको बनाएको हो ? अरूका छोराछोरी बेच्न राखेका पुतली हुन्’, दाहालप्रति लक्षित गर्दै ओलीले भने।नागरिक दैनिकमा खबर छ।