प्रतिनिधिसभा विघटनविरूद्ध आज दाहाल-नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन हुँदै

काठमाडौँ,माघ ९। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज काठमाडौँमा बृहत जुलुस निकाल्दैछ । काठमाडौंका नौ स्थानबाट बृहत् जुलुस निकाल्ने दाहाल-नेपाल समूहको तयारी छ ।

 

संसद् विघटनविरुद्ध सडक संघर्ष गर्दै आएको सो समूहले दोस्रोपटक काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो।

 

जसअनुसार काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट -याली निकाल्ने तयारी भएको नेकपाले जनाएको छ ।

 

समयभित्रै सहभागी हुन पार्टीपंक्तिलाई निर्देशित समेत दिएको छ । स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट सुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 

जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ। मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।

 

यसअघि दाहाल–नेपाल समूहले १४ पुसमा पनि बृहत् विरोध–सभा आयोजना गरेको थियो। विरोध प्रदर्शनको तयारीको सिलसिलामा प्रचण्ड–नेपाल समूहका युवा विद्यार्थीले बुधबार प्रचारात्मक मोटरसाइकल -याली तथा बिहीबार साँझ मसाल जुलुस समेत प्रदर्शन गरेका थिए।

 

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेको छ।