प्रधानमन्त्री ओलीले गरे पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल

काठमाडौं,माघ १०। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन विद्रोही माओवादीका जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गरेका छन् ।

 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व लडाकु कमाण्डरहरुसँग ओलीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्थ थापाले जानकारी दिए।

 

भेटका क्रममा ओलीले जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान गर्ने बताएका छन् । ओलीले राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्ने र विगतको जस्तो धोका नदिने आश्वासन दिएका छन् ।

 

ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्‍चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सत्तारुढ नेकपा विभाजित भएको छ ।

 

ओली समूह र दाहाल-नेपाल समूहले आ-आफ्ना गतिविधिलाई तीव्रता दिँदै आएका छन् । उनीहरु दुबै पक्ष अहिले कार्यकर्ता तानातानको अवस्थामा जुटिरहेका छन् ।