नागरिक आन्दोलनद्वारा तेस्रो जनआन्दोलन घोषणा (विज्ञप्तिसहित)

काठमाडौं,माघ १२। नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरिएको जनाएका छन्।

 

उनले सोमबार नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको दाबी गरेका छन्। भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन्।

 

उनकाअनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको उपचार गरिएको छ। केहीको भने अझै होस आउन सकेको छैन।

 

विज्ञप्ति –

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध जारी वृहत् नागरिक आन्दोलनको क्रममा आज भएको शान्तिपूर्ण भेलामा सरकारले निर्मम दमन गरेको छ। भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन्। घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पीग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ । गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन्। यो विज्ञप्ति तयार पार्दासम्म जैसीको होस आएको छैन।

आन्दोलनका विभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज कमलपोखरीबाट मार्च पास गर्दै प्रधानमन्त्री निवास, बालुवाटार पुग्ने र कोणसभा आयोजना गर्ने पूर्वघोषित कार्यक्रम थियो। कमलपोखरीको प्राकृतिक संरचना र महत्त्व निमिट्यान्न हुने गरी कंक्रिटका संरचना बनाउने उपक्रमलाई समेत विरोध गर्दै प्रधानमन्त्रीलाई नागरिकको प्रतिरोधी आवाज सुनाउने उद्देश्यले सो मार्च पासको आयोजना गरिएको थियो।

कमलपोखरीबाट माटोको टीका लगाएर नागरिकहरू बालुवाटारतर्फ मार्च गरेका थिए। प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक आन्दोलनकारीलाई रोकेको थियो। पीपलबोटमा आयोजना गरिएको कोणसभालाई डा गोविन्द केसी, खगेन्द्र सङ्ग्रौला, मोहना अन्सारी र नारायण वाग्लेले सम्बोधन गरेका थिए । प्रदीप देवानले गीत प्रस्तुत गरे भने प्रणिका कोयूले कविता वाचन गरेकी थिइन्। शिल्पी थिएटरले सडक नाटक तथा विमिन इन पोलिटिक्सले प्रदर्शन गरेको थियो। कोणसभापछि शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसलाई प्रहरीले एक्कासी लाठी र पानीको फोहोरा प्रहार गर्‍यो।

शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर गरेको छ। निहत्था नागरिकहरूले शान्तिपूर्ण आन्दोलन गर्ने लोकतान्त्रिक हक उपयोग गर्दै विधि र पद्धति कायम गर्न माग गरेका थिए, ओली समेतको संलग्नतामा लेखिएको संविधानको मर्म सम्झाउने प्रयत्न गरेका थिए, र हरण गर्न खोजिएको लोकतन्त्रको संवद्र्धनका लागि शान्तिपूर्ण आह्वान गरेका थिए। नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको थियो। यस सरकारी रवैयाको वृहत् नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ। यसै विज्ञप्तिमार्फत् सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गर्दछ।

वृहत् नागरिक आन्दोलनका तर्फबाट

युग पाठक