पशुपतिमा पञ्चामृत पूजा गर्दा सर्वसाधारणका लागि ५२ लाख रुपैयाँसम्म शुल्क,प्रधानमन्त्रीलाई निःशुल्क

काठमाडौं,माघ १३। देश, जनता र चराचर जगत्को सुख र शान्तिको कामना गर्दै प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेका छन् । देशका कार्यकारी प्रमुखबाट यस्तो पूजा पहिलोपटक भएको हो ।

 

पूजाका निम्ति प्रधानमन्त्री ओली बिहान ८ः४० मा पशुपतिनाथ पुगेका थिए । ‘मन्दिर परिसर दर्शनपछि ९ः१० पूजा सुरु भयो । करिब आधा घन्टा पूजा कार्यक्रम चल्यो । यस क्रममा उहाँले चराचर जगत् र राष्ट्रशान्तिको कामना गर्नुभयो,’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले भने ।

 

प्रधानमन्त्री ओलीले एक लाख २५ हजार दीप पनि प्रज्ज्वलन गरेका थिए । ‘यस्तो पूजा गर्दा कोषले सर्वसाधारणका लागि २५ हजारदेखि ५२ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । तर, प्रधानमन्त्री कोषका संरक्षक हुनुहुन्छ, त्यसैले उहाँका लागि सम्पूर्ण पूजासेवा निःशुल्क उपलब्ध गराइएको हो,’ कार्यकारी निर्देशक डा। खतिवडाले भने ।

 

पूजामा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, पर्यटन, नागरिक उड्ययन तथा संस्कृतिमन्त्री भनुभक्त ढकाल, परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई पनि सहभागी थिए । नयाँ पत्रिकाबाट