रेल सञ्चालनको मिति सरेको सर्‍यै

काठमाडौं,माघ १५। भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा चार पटक सञ्चालन गर्ने मिति सरिसकेको छ ।

 

रेल सञ्चालनका लागि न कर्मचारी छन्, न त रेलसम्बन्धी कानुन नै । भारत सरकारबाट निर्माण भएका भौतिक संरचना पनि अझै हस्तान्तरण भइसकेका छैनन् । असोज २ मा जयनगर जनकपुर कुर्था खण्डको ३५ किमि दूरीमा चल्ने भन्दै रेल सेट भित्र्याइएको थियो ।

 

दुवै सेट जनकपुरको इनर्वा स्टेसनको शसस्त्र प्रहशरीको बेसक्याम्प अघि पालले छोपेर राखिएको छ । यसको रेखदेख शसस्त्र प्रहरीले गर्दै आएको छ । कहिलेबाट रेल चल्छ भन्नेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई आफैं अनभिज्ञ छन् ।

 

तयारी पूरा भए पुस अन्तिमसम्म सञ्चालनमा आउने कम्पनीको भनाइ थियो । तर माघको आधा बित्न लाग्दा पनि चल्ने सुरसार देखिदैंन । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिएर रेल सेट निर्माण गर्न लगाएको हो ।

 

उक्त रकमको ५ प्रतिशत धरौटीका रुपमा राखिएको छ । अन्य रकम भने भुक्तानी गरी सकिएके महाप्रबन्धक भट्टराई बताए । कान्तिपुरबाट