काठमाडौंमा देखिएयो बर्डफ्लु पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्ध,सतर्कता अपनाउन आग्रह

काठमाडौं,माघ १८। मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।

 

काठमाडौं तारकेश्वर नगरपालिका वडा–७, सांङ्लेखोला फुटुङका बासिन्दाले पालेका पन्छीमा परीक्षण गर्दा बर्डफ्लु रोग (एच५एन८ भाइरस) भेटिएको विभागका प्रवक्ता चन्द्र ढकालले बताए ।

 

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो । ‘जनस्वास्थ्यका दृष्टिकोणले पनि जोखिम रहेको बर्डफ्लु पन्छीमा भेटिएको छ,’ ढकालले भने, ‘बर्डफ्लु भेटिएका ठाउँका कुखुरालगायत पन्छी नष्ट गरेका छौं ।

पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्ध, सतर्कता अपनाउन आग्रह

विगतमा नेपालमा देखिएको एच५एन१ भाइरसभन्दा अहिलेको भाइरस केही फरक प्रकृतिको रहेको विभागले जनाएको छ ।

 

बर्डफ्लु रोग पुष्टि भएका क्षेत्रका एक हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्की र तिनका अण्डा तथा दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण गरिएको विभागले जनाएको छ ।

 

भारतका विभिन्न प्रदेशमा देखिएको यो रोग नेपालमा कसरी भित्रियो भन्ने अनुसन्धान भैरहेको विभागले जनाएको छ । ‘बर्डफ्लु पन्छीबाट मानवमा सर्ने भएकाले उच्च सर्तकता अपनाएका छौं,’ ढकालले भने, ‘रोग नियन्त्रणका लागि सरकारी संयन्त्र परिचलान भएको छ ।

 

यो रोगको नेपालमा जोखिम बढेको विभागले जनाएको छ । जोखिमलाई ध्यानमा राखेर रोगको रोकथाम तथा नियन्त्रण गर्न सबै निकायलाई सतर्क हुन सरकारले आग्रह गरेको छ ।

 

भारतबाट रोग सार्न सक्ने पन्छीजन्य वस्तुको आयातमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ । ‘यहाँ देखएिको बर्डफ्लु भारतमा देखिएको भाइरससँग मिल्छ,’ ढकालले भने, ‘भारतबाट रोग भित्रिन नपाओस् भनेर पन्छीजन्य वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएका छौं ।

 

यो रोगको सघन निगरानी गरिएको पनि विभागले जनाएको छ । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्ध्ति निकायलाई परिचलान गर्ने निर्णय सरकारले गरेको छ ।

 

पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाणपत्र लिन निर्देशन दिइएको छ ।

 

किसानका फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गराउन, फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ ।

 

कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा सूचना दिन पनि सरकारले भनेको छ ।

 

बर्डफ्लु छिमेकी मुलुक भारतको मध्य प्रदेश, राजस्थान केरला, र हिमाञ्चल प्रदेशमा देखिएको छ । नेपाल–भारत खुला सीमाका कारण भारतबाट यो रोग भित्रिएको अनुमान गरिएको छ । नेपाल कुखुराको मासु, अन्डालगायतमा आत्मनिर्भर भए पनि चल्ला र दाना विदेशबाट आयात हुन्छ ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रण गर्न उच्च सतर्कता अपनाउँदै माताहतका पशु क्वारेन्टाइन कार्यालयलाई यसअघि नै निर्देशन दिएको भए पनि रोग देखिएको छ ।

 

काँकडभिट्टा, विराटनगर, वीरगन्ज, काठमाडौं, नेपालगन्ज, गड्डाचौकीलगायत पशु क्वारेन्टाइन नाकामा सतर्कता अपनाउन अघिल्लो महिना नै सरकारले निर्देशन दिएको थियो ।

 

बर्डफ्लु नियन्त्रण आदेश, २०६४ अनुसार विदेशबाट आयात गरिएका पन्छीमा संक्रमण देखिए नष्ट गर्ने व्यवस्था छ । जोखिम देखिए सरकारी अधिकारीले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ११ को अधिकार प्रयोग गरेर पन्छीजन्य तथा मासुजन्य वस्तुको आयातमा रोक लगाउन सक्छन् । दुई वर्षअघि पनि मुलुकका विभिन्न ठाउँमा बर्डफ्लु देखिएको थियो ।

बर्डफ्लु के हो ?

बर्डफ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो । अहिले देखिएको बर्डफ्लु भाइरस एच५एन८ हो । विगतमा नेपालमा हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एच५एन१ भेटिएको थियो ।

 

बर्डफ्लु कुखुरा, हाँस, टर्की, जंगली चराचुरुङ्गीलगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो जतिबेला जहाँ पनि फैलिन सक्ने विज्ञ बताउँछन् । यो रोग मानिसमा पनि सर्न सक्छ ।

 

खोकीको संक्रमण जस्तै हो बर्डफ्लु । जसले कुखुरा तथा पन्छीहरूमा विभिन्न समस्या निम्त्याउँछ । बर्डफ्लुको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्ने विज्ञ बताउँछन् ।

 

अत्यन्त द्रुत गतिमा फैलिने र ज्यान लिनसक्ने भएकाले बर्डफ्लुलाई प्राणघातक रोगका रुपमा लिइन्छ । कुखुराको मासु ७२ डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा पकाए भाइरस नष्ट हुने चिकित्सक बताउँछन् ।नागरिक दैनिकमा खबर छ।