डिजेल र पेट्रोलमा विक्रेताको कमिसन बढ्यो

काठमाडौं,माघ १८। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रेतालाई दिँदैै आएको कमिसन शनिबारदेखि प्रतिलिटर ३६ पैसाका दरले बढाएको छ ।

 

डिजेल र पेट्रोलमा बढाइएको यो कमिसन तत्कालका लागि निगमको आन्तरिक स्रोतबाटै बेहोर्नेगरी लागू हुने जनाइएको छ । आन्दोलनरत पेट्रोलियम व्यवसायीको माग पूरा गर्न बसेको निगम सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो ।

निर्णयअुनसार पेट्रोलमा प्रतिलिटर ०.३९ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशत कमिसन वृद्धि भएको छ । कमिन वृद्धिगँगै अब विक्रेताले पेट्रोलमा ३.३९ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कमिसन पाउनेछन् ।

 

यसअघि प्रतिलिटर पेट्रोल कमिसन ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत थियो । कमिसन वृद्धि गर्दा हुने मूल्य सामायोजनअनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर औषत ३६ पैसा थप हुने निगमका प्रवक्ता वीनितमणि उपाध्यायाले जानकारी दिए । निगमले कमिसनको भार तत्काल उपभोक्तालाई पर्न नदिइने दावी गरेको छ ।

लामो समयदेखि कमिसन वृद्धि नगर्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै बढाउन माग गरेका थिए । व्यवसायीले माग पूरा नगरे आइतबारदेखि आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

 

तर, निगमको निर्णयसँगै शनिबार निगम र पेट्रोलियम व्यवसायीबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै व्यवसायीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

 

विक्रेताले गत १२ गते निगमसँग कमिसन बृद्धिको माग गदै ज्ञापन पत्र पेश गरेका थिए । विक्रेताको प्राविधिक नोक्सानी सम्बन्धमा २०७४ साउन २६ को निर्णय बमोजिम पेट्रोल र डिजलमा थप गरिएको आन्तरिक प्राविधिक नोक्सान डिजेलमा ३ लिटर प्रति चार किलोलिटरमा र पेट्रोलमा १० लिटर प्रति ४ किलोलिटर हाललाई स्थगन गरिएको निगमले जानकारी दिएको छ ।

व्यवसायीले कमिसन बृद्धि नगरे डिजेल पेट्रोलमा आफैँले प्रतिलिटरमा ५० पैसा मूल्य थप गरी बिक्री गर्ने बताएका थिए ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले शनिवारसम्म माग पूरा नभए आइतबारदेखि गर्ने भनेको विरोधका कार्यक्रम गर्ने चेतावनी दिएका थिए ।

 

बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको सर्कुलरमा निगमको डिपोबाट आइतबारदेखि पेट्रोल नउठाउन निर्देशन दिएको थियो ।

 

१२ हजार लिटर डिजेल तथा पेट्रोलमा ३० लिटर जर्तीबापत पाइरहेको थप इन्धन सुविधा कटाउन निगम लागेको एशोसिएसनको आरोप छ ।

 

मुलुकभर एक हजार पाँच सय वटा पेट्रोल पम्प सञ्चालनमा रहेका छन् । उपत्यका धेरै पेट्रोल पम्पले शुक्रबारदेखि नै विरोधस्वरूप तेल बिक्री गर्न छाडेका थिए ।कारोबार दैनिकमा खबर छ।