जापानमा नेपालीको जनसंख्या १ लाख पुग्यो, सार्वजनिक तथ्यांक अनुसार कुन भिसामा कति नेपाली

काठमाडौं,माघ २५। टोकियो, जापान-जापानमा नेपालीहरूको संख्या करिब १ लाख पुगेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२१ फेब्रुअरी २ तारिखमा सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ पुगेको छ ।

मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा २०२० मा जापानमा नेपालीको संख्या ५.८ प्रतिशतले बढेको छ । सन् २०१९ को सुरुवातमा जापानमा नेपालीको जनसंख्या ९१ हजार ७ सय ७० रहेकोमा वर्षको अन्त्यमा ९६ हजार ८ सय २४ रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

व्यावसायिक, प्राविधिक क्षेत्रअन्तर्गत जापानमा रहेका नेपालीहरूको जनसंख्या १७ हजार १७ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले धेरै हो । यसअन्तर्गत प्रविधि र मानविकी, ज्ञान तथा अन्तर्राष्ट्रिय व्यापारमा १२ हजार ९ सय ४२ जना नेपाली रहेका छन् ।

यसमा पनि गत वर्षको तुलनामा १३ प्रतिशत नेपालीको संख्यामा वृद्धि भएको छ । ताजा तथ्यांकअनुसार जापानमा सन् २०२० को अन्त्यसम्ममा विशिष्ट गतिविधिअन्तर्गत विशेष दक्षतायुक्त भिसा पाएका नेपालीको संख्या गत वर्ष २.५ प्रतिशतले वृद्धि भएको छ । हाल यो भिसाअन्तर्गत रहेका नेपालीको संख्या जापानमा २५ सय २९ जना रहेका छन् ।

प्राविधिक प्रशिक्षार्थी कामदारका रूपमा रहेका नेपालीको संख्या अहिले जापानमा केवल ६ सय ४४ रहेको छ । यसमा सन् २०१९ को तुलनामा मात्र ०।६ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

जापानमा रहेका नेपालीहरूको तथ्यांकमा सबैभन्दा धेरै नन् क्वालिफाइड एक्टिभिटी अर्थात् दक्ष अर्धदक्ष पेसामा आबद्ध नेपालीहरूको संख्या रहेको छ ।

 

यसअन्तर्गत सन् २०२१ को ताजा तथ्यांकअनुसार जापानमा नेपालीको संख्या ७४ हजार ६ सय ७३ रहेको छ । यसमा अध्ययनरत विद्यार्थीहरूको संख्यासमेत समावेश गरिएको छ ।

जापानमा नेपाली विद्यार्थीहरूको संख्या ४४ हजार १ सय ४३ पुगेको छ । यो जापानमा भाषा विद्यालय, विश्वविद्यालयसहित सबै तहमा अध्ययनरत नेपालीको संख्या हो ।

निवासका आधारमा जापानको स्थायी निवासी भएका नेपालीको संख्या २ हजार ३ सय ५७ पुगेको छ । जापानी महिला वा पुरुषसँग घरबार गरेर बसेका नेपालीको संख्या ११ सय ७० रहेको छ । यसमा जापानको स्थायी निवासको दर्जा प्राप्त गरेका नेपालीको संख्या ५ सय ३३ पुगेको छ ।

यसैगरी तेइजु प्राप्त गर्ने नेपालीको संख्या जापानमा ७ सय ४ रहेको सरकारी तथ्यांकमा उल्लेख छ । कार्यक्षेत्र अन्तर्गत पेसागत आधारमा कन्स्ट्रक्सन ‘निर्माण उद्योग’मा कार्यरत नेपालीको संख्या ७ सय ५९ रहेको छ । यसैगरी म्यानुफ्याक्चरिङ क्षेत्रमा कार्यरत नेपाली १२ हजार ६ सय ८२ रहेका छन् ।

जापानमा रहेका नेपालीहरूको पेसागत आधारको निवास स्थितिअनुसार सूचना र संचार उद्योगमा ६ सय ६१ जना नेपाली कार्यरत छन् । भिसाको स्थितिअनुसार खुद्रा तथा होलसेल व्यापार क्षेत्रमा १६ हजार ५ सय ३९ नेपाली छन् ।

 

सबैभन्दा धेरै पेसागत कार्यक्षेत्रअन्तर्गत जापानमा आवास व्यवसाय, सेवा उद्योग (खाने तथा पिउने होटल, रेस्टुराँ) क्षेत्रमा कार्यरत नेपालीको संख्या २९ हजार २ सय ५८ पुगेको छ ।

शिक्षा अध्ययन, अध्यापन तथा सहायता क्षेत्रमा जापानमा ४ सय ७६ नेपाली कार्यरत छन् । सेवासहित अन्य विविध क्षेत्रमा कार्यरत रहेका नेपालीको संख्या २५ हजार ६ सय १ छ ।

 

चिकित्सा स्याहार तथा सामाजिक कल्याण क्षेत्रमा कार्यरत नेपालीको संख्या जापानमा सन् २०२१ मा ८ सय १३ जना नेपाली रहेका छन् ।

जापानमा नेपालीको बसोबास सन् २००८ मा केवल १२ हजार २ सय ८६ रहेको थियो । त्यसमा उच्च वृद्धि हुने क्रममा सन् २०१६ मा ५२ हजार ७ सय ७० पाइएको थियो । जापानमा नेपालीहरूको वृद्धि त्यसयता लगातार भइरहेको छ ।

जापानको सरकारी तथ्यांकअनुसार २०१७ मा ६९ हजार १ सय ११ जना नेपाली रहेकामा २०१८ मा त्यो संख्या ८१ हजार ५ सय ६२ पुगेको थियो ।

 

जापानमा हाल विदेशी नागरिकको संख्या १७ लाख २४ हजार ३ सय २८ पुगेको छ । यसमा सबैभन्दा धेरै भियतनामी नागरिक रहेका छन् ।

चिनियाँहरूको संख्यालाई उछिन्दै पहिलो पटक उच्च संख्या पुग्ने क्रममा जापानमा भियतनामीहरूको संख्या ४ लाख ४३ हजार ९ सय ९८ पुगेको छ । दोस्रोमा चिनियाँ नागरिक ४ लाख १९ हजार ४ सय ३१ रहेका छन् ।

 

तेस्रोमा फिलिपिनी १ लाख ८४ हजार ७ सय ५० रहेका छन् भने पाँचौं नम्बरमा भने नेपाल रहेको छ । नेपालीहरूको जनसंख्या जापानमा सन् २०२१ फेब्रुअरी २ तारिखको तथ्यांकअनुसार ९९ हजार ६ सय २८ रहेको छ ।

 

जी–७ राष्ट्रहरू अस्टे«लिया, अमेरिका, बेलायत तथा न्युजिल्यान्डका नागरिकको संख्या ८० हजार ४ सय १४ रहँदा दक्षिण कोरियालीको संख्या ६८ हजार ८ सय ९७ रहेको छ । यसबाहेक इन्डोनेसियाली ५३ हजार ३ सय ९५ र पेरुका नागरिक २९ हजार ५४ रहेका छन् ।कारोबार दैनिकमा खबर छ।