भागरथी हत्या प्रकरण:जिल्लामा तीन दिन शैक्षिक हड्तालको घोषणा

काठमाडौं,माघ २६। १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा जिल्लामा तीन दिन शैक्षिक हडताल गरिएको छ ।

 

विद्यालयबाट घर फर्कने क्रममा बाटोमा विभत्सरुपमा बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा तीन दिन शैक्षिक हडताल गरिएको हो ।

 

संघर्ष समिति गठन गर्दै तीन दिनका लागि शैक्षिक हडताल गरिएको जनाइएको छ । आइतबारदेखि मंगलबारसम्म तीन दिन गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्दै शैक्षिक हडताल गरिएको हो ।

 

संघर्ष समितिले गरेको शैक्षिक हडतालअनुसार नै गाउँपालिकाका सबै विद्यालय बन्द रहेका सनातन धर्म माविले जनाएको छ ।

 

समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हडताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आमहड्ताल गर्ने घोषणा गरेको छ ।

 

यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए ।

 

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घरनजिकै रहेको लबलेक जंगलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।