नेपाल टेलिकमले सञ्चालनमा ल्यायो,एनटी च्याटबोट: यसरी लिन सकिन्छ विभिन्न सेवाहरु?

काठमाडौं,फगुन ४ । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरिएको छ।

 

कम्पनीको वेबसाइट (www.ntc.net.np) खोल्नासाथ शुुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ( Need Help -Welcome to NT Chatbot )  निड हेल्प ? वेलकम टु एनटी च्याटबोट भनेर लेखिएको छ ।

 

यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली÷अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने टेलिकमले जनाएको छ ।

 

उक्त सेवा सुचारु गरेको बारेमा जनाउँदै आज नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्ती समेत सार्वजनिक गरेका छन । उनको विज्ञप्तीमा च्याटबोटबाट फिडब्याक दिन र गुनासो दिन सकिने बताइएको छ ।

 

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

 

त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत÷गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग÷पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिने छ ।

 

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु (facebook, twitter,viber community,instgram) प्रयोग गर्न सक्दछन् ।

 

ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्किन्छ।