अखिल (क्रान्तिकारी)ले शिक्षा र स्वस्थ्य क्षेत्रमा ब्रह्मलुट मच्चाउनेहरुका विरुद्ध संघर्ष गरि कारवाही गर्ने चेतावनी (प्रेस वक्तव्यसहित)

काठमाडौं,फागुन १० । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले विश्वविद्यालयहरुले विभिन्न वाहनामा शुल्क वृद्धि गर्ने गरेकाे कार्य प्रति आपति जनाएको छ।

 

त्यस्तै विद्यार्थीहरुबाट अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्य तर विद्यार्थीबाट पैसा नउठेको बहानाबाजी गर्दै शिक्षक र कर्मचारीहरुलाई तलब–सुविधा कटौती गर्नुका साथै कतिपय शैक्षिक संस्थाहरुले तलब नै नदिने गरेकाे भन्दै संगठनले त्यस्ताे कार्य नगर्न चेतावनी दिएकाे छ।  

 

त्यस्तै कतिपय शिक्षक र कर्मचारीहरुलाई जागिरबाट निकाल्ने कामसमेत भएकोमा यसलाई गम्भीर ढंगले छानविन गरी अनलाइन कक्षाको नाममा मनपरी ढंगले असुल गरिएको शुल्क अविलम्ब फिर्ता र जागिरबाट निकालिएका शिक्षक–कर्मचारीहरुलाई यथाशीघ्र पुनर्वहाली गरी तलब–सुविधा उपलब्ध गराउन अपिल गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा प्रेस वक्तव्य जारी गरिएको छ।

प्रेस वक्तव्य

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ तथा वैज्ञानिक र जनवादी शिक्षाका लागि निरन्तर संघर्षको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वास्तविक उत्तराधिकारी संगठन हो । शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ गराउनका लागि हाम्रो संगठन निरन्तर क्रियाशील एवं संघर्षरत छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ ले नेपाललाई पनि प्रभाव पार्नुका साथै खासगरी शिक्षा क्षेत्रमा ठूलै प्रभाव प¥यो । शैक्षिक संस्थाहरुमा भौतिकरुपमा कक्षा सञ्चालन हुन सकेन, जसका कारण अनलाइन कक्षाहरु सञ्चालन गरिए ।

 

तर, विडम्बना विद्यार्थीहरुबाट अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरेर पनि विद्यार्थीबाट पैसा नउठेको बहानाबाजी गर्दै शिक्षक र कर्मचारीहरुलाई तलब–सुविधा कटौती गर्नुका साथै कतिपय शैक्षिक संस्थाहरुले तलब नै नदिएको अवस्था छ भने कतिपय शिक्षक र कर्मचारीहरुलाई जागिरबाट निकाल्ने कामसमेत भएको छ ।

 

यसलाई गम्भीर ढंगले छानविन गरी अनलाइन कक्षाको नाममा मनपरी ढंगले असुल गरिएको शुल्क अविलम्ब फिर्ता र जागिरबाट निकालिएका शिक्षक–कर्मचारीहरुलाई यथाशीघ्र पुनर्वहाली गरी तलब–सुविधा उपलब्ध गराउनसमेत अपिल गर्दछौं ।

त्यसैगरी, विभिन्न विश्वविद्यालयहरुले अनेक बहानाबाजी गरेर शुल्क वृद्धि गर्ने कार्य गरिहेका र विभिन्न विश्वविद्यालयहरु र सीटीईभीटीले शुल्क निर्धारण नगरी मनपरी शुल्क लिने गरेकोप्रति हाम्रो संगठन उक्त कार्यको घोर विरोध गर्दछ । अविलम्ब शुल्क निर्धारणको लागि नेपाल सरकार समक्ष अपिल समेत गर्दछौं ।

यी विषयलाई अविलम्ब समाधान गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका हरेक प्रकारका विकृति र विसंगतिको अन्त्यका लागि हामी नेपाल सरकार र सम्बन्ति निकाय समक्ष हार्दिक अपिल गर्दछौं ।

 

अन्यथा, सशक्त संघर्षमा उत्रनुको साथै आम विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरुलाई शिक्षा र स्वस्थ्य क्षेत्रमा ब्रह्मलुट मच्चाउनेहरुका विरुद्ध संघर्षमा उतारी कारवाही गर्ने चेतावनी दिनसमेत चाहन्छौं । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार र सम्बन्धित पक्ष नै हुने जानकारीसमेत गराउन चाहन्छौं ।

क्रान्तिकारी अभिवादनसहित!

 हरिकृष्ण गजुरेल
अध्यक्ष

प्रेस वक्तव्य-