प्रचण्डलाई भेटेर नेकपाबाटै प्रधानमन्त्री चुन्न गौतमको प्रस्ताव

काठमाडौं,फागुन १३ ।  नेकपा उपाध्यक्ष वामदेव गौतमले नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानजनक बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन्।

 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले यस्तो प्रस्ताव राखेका थिए। जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित पनि नरहेको तर अहिलेकै अवस्थामा केपी शर्मा ओलीसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसक्ने बताएका छन्।

 

ओलीले आत्मालोचना गरेर राजीनामा दिनुपर्ने र त्यो नै पार्टी एकताका लागि हितकर हुने बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

 

गौतमले एकतासहितका रणनीतिक विषयका लागि कार्यदल बनाउन पनि सुझाव दिनुभएको छ ।  नेकपा दुई खेमामा विभाजित भएका बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आउनुभएको छ।

 

सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने गौतमको माग रहेकाे छ ।