धनगढीमा चारदलीय रणनैतिक मोर्चाको विशाल जनसभा सम्पन्न,संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउन मोर्चाका नेताको युवाहरुलाइ निर्देशन

धनगढी,फागुन १४। चार दलीय रणनैतिक संयुक्त जनमोर्चाले धनगढीमा विशाल जनसभाको आयोजना गरेको छ। मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी सम्लित संयुक्त रणनीतिक मोर्चाले शुक्रवार धनगढीमा विशाल जनसभाको आयोजना गरेको हो।

 

नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य रामसिंह श्रीसले सभालाई सम्बोधन गर्दे देशमा संसद् विघटन गर्ने र फेरी पुनर्स्थापना गर्ने जस्ता नाटक भइरहेको बताए।

 

उनले वर्तमान सरकार दलाल, भ्रष्ट र कमिशनखोरी भएको आरोप लगाए। अब नेपाली जनताले दलालहरूको अन्त्य गर्नुपर्ने र त्यसको नेतृत्व गर्न आफूहरू चार दल एक भएर अगाडी बढेको उनले बताए। उनले अबको विकल्प जनगणतन्त्र नै भएको बताउँदै सबै मिलेर अगाडी बढ्नुपर्ने बेला आएको बताए।

 

सङ्घीयताले आत्मनिर्णयको अधिकार नदिइएको बताउँदै केवल जनताले अन्याय सहनुपर्ने अवस्था ल्याएको बताए। उनले व्यवस्थाको नाम बदलिएको तर अवस्था नबलिएको भन्दै जनगणतन्त्र, वैज्ञानिक समाजवाद स्थापना नहुन्जेल सम्म अबको सङ्घर्ष निरन्तर अगाडी बढ्ने दाबी गरे। उनले अब अन्तिम पटक बलिदान गर्नुपर्ने बेला आएको समेत बताए।

 

जनसभालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति)ले संविधानमा नभएको व्यवस्थाको प्रयोग गरी राजनीतिक पार्टी विप्लवमा लगाइएको प्रतिबन्धको घोर विरोध जनाएका छन्। उनले यो प्रतिबन्ध यथाशीघ्र फुकुवा हुनुपर्ने माग गरेका छन्।

राष्ट्रिय समाजवादी मञ्चका केन्द्रीय अध्यक्ष डि.डी. पाण्डेयले चार दलीय संयुक्त मोर्चा अबको विकल्प शक्तिका रूपमा अगाडी बढेको बताए।

 

उनले यो केवल सुरुवात भएको बताए। अबको क्रान्ति केवल वास्तविक किसान, मजदुर, पिछडिएका वर्गको उत्थानका निम्ति भएको उनले दाबी गरे। जसका लागी चार दलीय संयुक्त मोर्चा अगि बढिसकेको उनले जनाए।

स्वागत मन्तव्य राख्दै थरुहट तारुवान् मोर्चाका नेता बिन्तीराम चौधरीले नेता रेशमलाल चौधरीको अविलम्ब रिहाइको माग गरे ।

त्यस्तै रणनीतिक संयुक्त मोर्चाका नेता कुवेर सिंहले विगत आठ दशक लामो इतिहास हेर्दा नेपाली जनतामाथि कुठाराघात हुँदै आइरहेको बताउँदै उनले अब नेपाली जनतालाई धोका नहुने प्रतिबद्धता जनाए।

 

उनले अबको विकल्प जनगणतन्त्र र जनजीविका भएको बताए। विगतमा भएका सङ्घर्ष प्रचण्डे, ओली जस्ता दलाल सक्तावादीहरुले गर्दा निरर्थक तुल्याएको बताउँदै अब अवस्था सुधार्न रणनीतिक मोर्चा बाहिर आएको दाबी गरे। उनले नेपाली जनताले फेरी एक पटक अन्तिम सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए।

 

सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराले जनगणतन्त्र सँगै दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद निर्माणका लागी विशाल जनसभाको आयोजना गरिएको बताए।

 

संयुक्त चार दलीय विशाल जनसभामा सुदूरपश्चिमका कञ्चनपुर, कैलाली सहित पहाडी जिल्लाका नेता कार्यकर्ता र विद्यार्थीहरूको सहभागिता रहेको थियो। शुक्रवार बिहान सहिद गेट हुँदै निस्किएको विशाल ¥याली धनगढी चौराहा हुँदै खुलामञ्चमा जम्मा भएको थियो।

 

कार्यक्रमको अध्यक्षता राष्ट्रिय समाजवादी मञ्चका केन्द्रीय अध्यक्ष डि।डी। पाण्डेय, प्रमुख अतिथिमा नेकपा (क्रान्तिकारी) माओवादीका स्थायी कमिटी सदस्य राम सिंह श्रीसरहेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का सुदूरपश्चिम सेक्रेटरी रामबहादुर महराले गरेका थिए।

 

त्यस्तै कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी का दुलाल, राष्ट्रिय जागरण मञ्च नेपालका गुण राज लोहनी, र नेकपा युवा नेता  पूर्ण बहादुर सिंह, थारु मुक्ति मोर्चाका बिन्तीराम चौधरी, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की हिरा नाथ लगायतले स्वागत मन्तव्य राखेका थिए।