विप्लव नेकपासँग वार्ताद्वारा समस्याको समाधान गर्छौं: प्रधानमन्त्री ओली

काठमाडौं,फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् ।

 

कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरे ।

 

 

उनले आइतबारै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको जिकिर गरे । हाल मासिक रु तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उनले घोषणा गरे ।

 

नेपाललाई गरिब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिस गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए ।

 

उनले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए । आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने दाबी गरे । औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

 

समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले एक दिनमा देशभरि पाँच पुल बनेको जिकिर गरे । उनले भने,अब देशमा पुलपुलेसाको समस्या कतै पनि भोग्नुपर्ने अवस्था आउने छैन ।

 

 

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यो साता देशभरि औद्योगिक पार्क स्थापना गरी देशलाई औद्योगिक युगतर्फ प्रवेश गराएको विचार व्यक्त गरे ।

 

उनले नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल दुई दुई पटक प्रधानमन्त्री हुँदा विकास र राष्ट्रियताको विषय कमजोर भएको तर वर्तमान नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार लोकप्रिय भएकाले त्यसविरुद्ध लाग्नु देश र पार्टीको हितकर नभएको बताए । उनले पार्टी छाडेर जाने समूहलाई आत्मालोचित भएर घर फर्किन आए एकता अझै सम्भव भएको स्पष्ट पारे ।

 

कमल–७, गौरादह–५ र दमक–१० को सङ्गमस्थलमा २१ सय बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो जसमा चीन सरकारको रु ६५ अर्ब लगानी हुने भएको छ ।

 

 

पार्कमा पहिलो चरणमा २६ विदेशी कारखाना स्थापना हुने र त्यसबाट उत्पादित वस्तु विदेशमा निर्यात हुने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए । रासस,