नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनबारे

पहिलो कुरा, नेपाल पत्रकार महासंघ २६ औं महाधिवेशन सम्पन्न गरि निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । आम श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी, पुर्ण प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति, नागरिक अधिकारहरुको संरक्षण, जनपक्षीय, जनउत्तरदायी तथा निष्पक्ष एवम् जिम्मेवार प्रेस अभ्यासको नियमन जस्ता महत्वपुर्ण दायित्व र जिम्मेवारी बोकेको नेपाल पत्रकार महासंघ स्वायत्त संस्था भए पनि यसले स्वायत्त रुपमा आफ्नो दायित्व र जिम्मेवारी वहन प्रभावकारी रुपमा सम्पादन गर्न नसकेको आम श्रमजीवी तथा जनप क्षीय पत्रकारहरुको अनुभूति रहँदै आएको छ ।

 

पत्रकार महासंघको नीति निर्माण तथा कार्यसम्पादनमा सरकार, वैदेशिक आइएनजिओ र कर्पोरेट मिडियाको प्रभाव देखिने र अनुभूति हुने गरि प्रकट हुँदै आएको छ । परिणामतः पत्रकार महासंघ आफ्नै घोषित लक्ष्य र उद्देश्यमा खरो उत्रन सकिरहेको छैन ।

नेपाली समाजको बौद्धिक सार अभिव्यक्त हुने यो संस्थाको नेपाली समाजको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपुर्ण भूमिका रहँदै आएको छ । सँधै अग्रगामी राजनीतिको पक्षमा आवाज बुलन्द गर्दै आएको यो संस्थाले फेरि पनि एउटा महत्वपुर्ण र ऐतिहासिक भूमिका खेल्नुपर्ने अभिभारा परिस्थितिले सुम्पिएको छ ।

 

देशको शासन व्यवस्था प्रतिगामी र फासिवादी दिशातिर उन्मुख हुँदै जाँदा विगतका युद्ध र आन्दोलनबाट प्राप्त नागरिक अधिकारहरु खोसिन थालेका छन् भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेपका घटना बढेर गएका छन् ।

 

भुराजनीतिक दाउपेच र स्वार्थका कारण वैदेशिक हस्तक्षेप र चलखेल तीव्र बन्दै जाँदा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको प्रश्न पनि निकै संवेदनशील बन्दै गएको छ । सरकारका जनविरोधी नीतिहरुका कारण आज जनजीवन पनि दिनानुदिन कष्टकर बन्दै गएका छन् ।

मिडिया क्षेत्रमा बढ्दो स्वदेशी तथा विदेशी अपारदर्शी लगानी र कतिपय प्रायोजित विषयवस्तुहरुले नेपाली समाजलाई भ्रमित तुल्याउने र गलतबाटोतिर दिशाबोध गर्ने गरेको छ । यी लगायत जनसरोकारका धेरै विषयवस्तुहरुको उठान र समाजको अग्रगामी रुपान्तरणमा पत्रकार महासंघले खेल्नुपर्ने भूमिका उसको दायित्व र जिम्मेवारीभित्र पर्दछ ।

महासंघमा साझा र छाता चिरत्र कायम भएन भनेर लामो समयदेखि बहस र विवाद हुँदै आएको छ । र, साझा र छाता चरित्र कायम नहुँदा उपरोक्त जिम्मेवारी र दायित्व वहन प्रभावकारी रुपमा गर्न नसकेको विषय पनि त्यही रुपमा उठ्दै आएको छ । महासंघलाई साझा बनाउने भनेको मूलतः वैचारिक हिसाबले साझा बनाउने भन्ने नै हो ।

 

नेपाली समाजको बनोट अनुसारको समावेशी बनाउने जिम्मेवारी पनि छँदैछ । तर लामो समयदेखि एकै विचार र दृष्टिकोण राख्ने संघ संगठनहरुको नै महासंघमा वर्चस्व रहँदै आयो । फरक विचार र दृष्टिकोण नहुँदा महासंघमा “चेक एण्ड ब्यालेन्स”को स्थिति रहेन ।

 

नीति निर्माणदेखि त्यसको कार्यान्वयन तहसम्म अमुक विचार, दृष्टिकोण र राजनीतिको मात्र प्रभाव रहँदा महासंघले सबै सामाजिक मनोविज्ञानको प्रतिनिधित्व गर्न सकेन । तसर्थ, पत्रकार महासंघको कार्यसम्पादनप्रति सार्वजनिक रुपमा प्रश्नहरु उठ्ने गरेका छन् । र, यसप्रतिको विश्वास र आकर्षणमा कमि आउने गरेको छ ।

 

यसर्थ, हामीले पत्रकार महासंघलाई वैचारिक लगायत सामाजिक बनोटको प्रतिविम्बन हुने गरि साझा र समावेशी बनाउनुपर्ने विषयमा विशेष जोड दिदै आएका छौं । र, हौं । हालै चारवटा पत्रकार संगठनबीचको सहकार्यको सहमतिको आधार पनि यसैमा अन्तर्निहित रहेको छ ।

दोस्रो कुरा, नेपाल पत्रकार महासंघ सामाजिक आन्दोलनको जेठो, अग्रणी तथा नेतृत्वदायी संस्था हो । नेपाली बौद्भिकताको सार अभिव्यक्त हुने संस्थामा गरिने हरेक क्रियाकलाप र अभ्यासमा आम समुदायको समेत चासो, चिन्ता र सरोकार रहनु स्वभाविक हुन्छ ।

 

कतिपय मुद्दामा नेपाली राजनीतिलाई समेत अग्रगामी दिशाबोध गर्दै आएको यो संस्थाले एकातिर आसन्न निर्वाचन कम खर्चिलो, मर्यादित र पारदर्शी ढंगले सम्पन्न गर्न जरुरी छ भने अर्कोतिर महासंघको नेतृत्व हत्याउन, आफ्नो बर्चस्व स्थापित गराउन संसदीय निर्वाचनमा जस्तो भ्रष्ट संस्कृति अपनाउने, पैसाको खोलो बगाउने, महासंघको विधान विपरीत तथा अमर्यादित क्रियाकलाप गर्ने र महासंघलाई नै बद्नाम र घृणित तुल्याउने कामलाई निषेध तथा नियन्त्रण गरिनु पर्दछ ।

 

प्रत्यक्ष निर्वाचनको पहिलो अभ्यास पनि भएकोले र समाज र राजनीतिलाई समेत दिशाबोध गर्ने नेपाली बौद्भिकताको सार अभिव्यक्त हुने एउटा अग्रणी सामाजिक संस्था समेत भएकोले महासंघमा सहमतीय संस्कृतिको थिति बसाल्न जरुरी छ ।

 

तसर्थ, आगामी निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्ने गरि सबै सरोकारवाला संघ संगठनहरुले भुमिका खेल्न आवश्यक छ ।

 

बर्चस्ववादी, प्रभुत्ववादी र बिर्तावादी मानसिकताबाट मुक्त भई सबैको अस्तित्व स्वीकार्ने र साझा प्रतिनिधित्व सहितको पुर्ण लोकतान्त्रिक अभ्यास गर्ने मानसिकताको विकास गर्ने हो भने सहमतीय प्रणालीबाट निर्वाचन सम्पन्न गर्न सम्भव छ । त्यसका निम्ति सम्बन्धित सबै पक्षले पहल गरौं ।

(लेखक क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष हुन् ।)