देशी–विदेशी तत्वहरूबाट आफूमाथि सुरक्षा खतरा रहेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं,फागुन १७। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । उनले सोमबार पोखरामा नेकपा ओली पक्षको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

 

ओलीले आफ्नो सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरू नेकपालाई ध्वस्त पार्न लागेको र आफूमाथि पनि प्रहार केन्द्रित भएको बताए ।

 

प्रधानमन्त्री ओलीले भने,तपाईंहरू अनौठो नमान्नु होला, यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । उनले तर त्यस्तो हुन नदिने र सतर्कता अपनाउने पनि बताए ।

 

पार्टीको नेतृत्वमा रहेर पार्टीलाई अघि बढाइरहेको, सरकार प्रभावकारी र गतिशील ढङ्गले सञ्चालन गरिरहेको र विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित भएएको ओलीले बताए ।