सरकार र विप्लव नेकपाबीच सहमति आत्मनिर्भर,स्वाधीन र सुन्दर देश बनाउछौं:महासचिव विप्लव

काठमाडौं,फागुन २१ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको छ।

 

आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

 

सहमति पत्रमा भनिएको छ ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं ।

 

आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।’

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना रहेको बताएका छन् ।

सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति सरकार र आफ्नो पार्टीबीच मात्रै नभएको बताए ।

‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी र केही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ’।

 

नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ । यो भित्र देशमा दीर्घकालीन शान्ति, स्थिरिता कायम गर्ने र समृद्ध जीवनको चाहना रहेको छ ।

 

विप्लवले झापा विद्रोह र जनयुद्धका सहिद तथा वेपत्ता योद्धाहरुलाई सम्झँदै समाज रुपान्तरणको कार्यभार अझै बाँकी रहेको बताए । उनले आफूहरु धर्तीमा गाडिन तयार हुने तर देशको स्वाधीनता, सार्वभौमिकतालाई झुक्न नदिने पनि बताए।

तीन बुँदे सहमति पत्र

१- दुबै पक्ष नेपाल सरका र नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

 

२- नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

 

३- नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।