कर्णाली नदिमा ४ सन्तानसहित आमाले हाम फालिन्, २ छोरीको शव भेटियो,अन्यको खोजी कार्यजारी

काठमाडौं,फागुन २५। दैलेखक जिल्ला आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन्।

 

  विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला उनले नदीमा हाम फालेकी हुन। हाम फालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ। अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ। 

 

  १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ। 

 

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ।

 

सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।

 

स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ।

 

बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने  थाहा सूचना  पाएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे।