जनसांस्कृतिक महासङ्घ र इच्छुक सांस्कृतिक प्रतिष्ठानले देशैभरी प्रतिरोध दिवस मनाउँदै

काठमाडौं,चैत ५।महान् जनयुद्धका क्रममा काभ्रे जिल्लाको अनेकोटमा भएको कलाकारहरूको सामूहिक हत्याकाण्डको दिनमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ ।

 

यस बर्ष पनि जनसांस्कृतिक महासङ्घ तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम गरिने कुरा प्रतिष्ठानका अध्यक्ष तथा जनसांस्कृतिक महासङ्घका महासचिव हिरामणि दुःखीले बताए ।

 

दुःखीका अनुसार २०५५ चैत ५ गते अनेकोटमा सामना परिवारका कलाकारहरू च्याङ्ग्बा लामा, निर्मला देबकोटा, सुभद्रा सापकोटा, गुम्वासिंह तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ र चिनिमाया लामाको प्रहरीद्वारा घर घेरा हाली आगो लगाएर सुतेकै अवस्थामा हत्या गरेको थियो ।

 

यसैगरी रोल्पाको भावाङ र हार्जङ, डोल्पाको माझफाल, जाजरकोटको लहँ, अछामको डुङ्ग्ला, र डोटी जिल्लाको मुठभडामा पनि प्रहरीद्वारा कलाकारहरूको सामूहिक हत्या गरिएको थियो ।

 

यी सबै सामूहिक हत्याकाण्डहरूको सन्दर्भमा चैत ५ गते देशैभरी सांस्कृतिक प्रतिरोध दिवस मनाउने गरेको दुःखीले बताए ।

 

जनयुद्धमा कलाकारहरूको भूमिकाबारे बताउँदै हिरामणि दुःखीले भने– ‘जनयुद्धको समयमा कलाकारहरूले गाउँगाउँमा गीत, सङ्गीत, नाटक, अपेराका माध्यमबाट जनतालाई जागृत गराउँदै हिँड्थ्यो ।

 

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोलीका रूपमा सामना परिवार थियो भने देशैभरी क्षत्रीय तथा जिल्ला टोलीका रूपमा थुप्रै कलाकारहरू सङ्गठित थिए ।

 

उनीहरू मादल, गीतार, सारङ्गी, हार्मेनियम, बाँसुरी जस्ता बाद्यसामग्री लिएर जनताको घरदैलोमा जान्थे र आफ्ना प्रस्तुतिहरू मार्फत् जनतामा चेतना जगाउँथे, प्रतिक्रियावादी राज्यव्यवस्थाको भण्डाफोर गर्थे र जनतालाई जनवादी व्यवस्था स्थापनाका लागि गरिएको जनयुद्धको महत्व दर्शाउँथे ।

 

यसरी गीत सङ्गीतका माध्यमबाट जनतालाई राजनीतिक चेतना जगाउँदा तात्कालिन सत्ताका प्रहरी र सेनाले कलाकारहरूको सामूहिक हत्या गरेको थियो ।

२०६० सालमा भएको अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिको बैठकले निर्णय गरेर हरेक बर्ष चैत ५ गते अनेकोटमा भएको केन्द्रीय टोली सामनाका कलाकारहरूको सामूहिक हत्याको दिनमा देशैभरी भएका कलाकारहरूका सामूहिक हत्याकाण्डहरूको सम्झनामा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको दुःखीले बताए ।

 

यो दिनलाई जनयुद्धको नेतृत्व गरेको नेकपा (माओवादी)ले स्वामित्व ग्रहण गर्दै पार्टीले नै यो दिवस मनाउन आफ्ना मातहतका निकयहरूलाई सर्कूलर गर्दै आयो ।

 

त्यसैको शृङ्खलाका रूपमा यतिखेर नेकपा (क्रान्तिकारी माओवादी)ले यो दिवस मनाउँदै आएको छ । यस बर्स ‘२३औँ सांस्कृतिक प्रतिरोध दिवस’ प्रतिरोध सङ्घर्षकै रूपमा देशैभरी मनाउने सो सङ्गठनले जनाएको छ ।

 

यसैक्रममा कहीँ पार्टीको आयोजना र कहीँ जनसांस्कृतिक महासङ्घको आयोजनामा देशैभरी कार्यक्रम गरिने र ती कार्यक्रमहरूमा महान् जनयुद्धमा सहभागी कलाकार, साहित्यकार सबैलाई सहभागी हुन महासङ्घले आह्वान गरेको छ ।