नाम एक परम्परा अनेक रङ्गै रङ्गको पर्व होलीको शुभकामना

-यमराज तिमिल्सिना

होली पर्व रङ्गहरूको चाड हो । होली फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । फागुनको महिनामा मनाउने भएकालेहोलीलाई फगुआ पनि भन्ने गरिन्छ । नेपालमा होली पर्व दूइ दिन मनाउने प्रचलन रहेकोछ । पहाडतिर पूर्णिमाका दिन र तराइतिर फूर्णिमाको भोलिपल्ट मनाइन्छ ।

 

ठाउँ विशेष फरक फरक तरिकाले होली मनाउँने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली हिन्दू धर्मावलम्वीको एक पवित्र पर्व हो ।

 

उपत्यकामा प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक फागुन शूक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर ठड्याएपछि वा लिङ्गो गाडेपछि होली सुरू भएको मानिन्छ भने फागुपर्व पूर्णिमाको राती सोही लिङ्गोलाई ढालेर जलाएपछि होली समाप्त भएको मानिन्छ ।

 

त्यस्तै भक्तपुरमा चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि फागुपर्वको सुरूवात भएको मानिन्छ भने लिङ्ग पखालेर भीमसेनको मन्दिरमा ल्याएपछि होली समाप्त भएको मानिन्छ ।

 

नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा होली पर्वको उल्लेख भएको पाइन्छ । भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ भनिन्छ । होली संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय बनेको पाइन्छ ।

 

पौराणिक कथनानुसार त्रेता युगमा हिरण्यकश्यपु नामक एक नास्तिक राक्षसको जन्म भएको थियो । जसलाई पछि भगवान विष्णुले नरसिंह अवतार लिएर मार्नुभएको थियो ।

 

सोही हिरण्यकश्यपुका प्रह्लाद नाम गरेका छोरा बिष्णु भगवानका परम भक्त थिए । आफ्ना छोरा प्रह्लादले विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन ।हिरण्यकश्यपुलाइ संसारमा आफूभन्दा ठूलो कोही पनि छैन इश्वर, भगवान जे भनेपनि आफैलाइ ठान्थे ।

 

त्यसैले कति गर्दा पनि प्रह्लादले विष्णुको आराधना गर्न नछोडेपछि हिरण्यकश्यपुले छोरालाई मार्न अनेक योजनाहरू बनाए तर कतैबाट पनि सफल भएनन् । केही गर्दा पनि मार्न नसकेपछि छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिए । होलीका जसले ब्रह्माबाट आगोले डढाउन नसक्ने वरदान पाएकी थिइन् ।

 

त्यसैले दाजुको आदेश अनुसार होलिकाले  प्रह्लादलाई काखमा राखेर आगोमा बसिन् तर आगोले धर्म बिर्सेन । होलिका आगोमा जलेर नष्ट भइन् तर प्रह्लादलाई छोएन वा केही पनि भएन । ब्रह्माको वरदान होलीकाले दुरूपयोग गरेकोले होलिकाको जलेर मृत्यू भयो ।

 

 

होलिका आँफै जलेर नष्ट भएको र असत्य माथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । होली खेल्ने दिन भन्दा एकदिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

 

 सत्यमाथि जीत भएको खुसीको दिन अर्थात् होलीका दहनकै खुसियाली मनाउन एकआपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।

 

त्यस्तै अर्को प्रसङ्ग अनुसार द्वापरयुगमा कंशको आदेश बमोजिम श्रीकृष्णलाई मार्ने उद्देश्य राखेर पुतना नामकी एक राक्षसनीले कृष्णलाइ आफ्ना स्तनमा विष मिसाएर दूध चुसाउन गइन् ।

 

कृष्णलाइ मार्न भनि गएकी पुतनालाइ उल्टै बालक कृष्णले दूध चुसेर नै पुतनालाइ मारिदिएकाले गोपालवासीहरूले यसै दिन पुतनालाइ जलाएर एकआपसमा रङ्ग, अबिर छरेर खुसियाली मनाएको र त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ पनि रहदै आएको छ । यही वातावरणले होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ भनिन्छ ।

 

होली पर्व रङ्गै रङ्गको पर्व हो । रङ्ग सबैलाइ नै मन पर्दछ । अधिकांशले मन पराउने रातो रातो रङ्गलाई शुद्धता पवित्रता र चित्त शुद्धिको प्रतीकका रूपमा लिइन्छ । साहस र प्रेमको प्रतीकका रूपमा साथै शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

 

सेतो धेरैलाई मन पर्ने रंग हो । सेतो रङ्ग चहकिलो, सफा र आकर्षक शुद्धताको प्रतीक मानिन्छ । हस्पिटल होस् या पूजार्चनामा होस् सेतो रङ्गको प्रयोग गरिन्छ ।

 

हरियो रङ्गलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । साथै जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ्गपनि भनिन्छ । पहेंलो रङ्गलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ ।

 

यो रङ्गको सम्बन्ध खुसी र हर्षसँग पनि जोडिएकोछ । मनोविज्ञका अनुसार यो रङ्ग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् भन्दछन् । नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक शान्ति र सन्तुलनको प्रतिक मानिन्छ । कालो रङ्ग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ ।

 

होली पर्व नेपाल र भारतलगायत विश्वका थुप्रै मूलुकमा आआफ्नै मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । दक्षिण एसियाली मूलुक भारत वर्षभित्रको भएकाले मनाउने चलन हुने नै भइहाल्यो ।

 

सुरिनाम र मोरिसस नेपाल र भारतपछि बढी हिन्दू धर्मावलम्वीको बसोबास भएकोले होलीका दिन सार्वजनिक बिदा नै दिएर मनाउँने चलन छ भने अन्य अमेरिकी र युरोपेली मूलुकामा रङ्गको पर्व मनाउने आआफ्नै तरिका छन् ।

 

 

इन्डोनेशियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेशियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर साथै पन्ध्र दिनसम्म ‘च्वेज’ नामले होली पर्व मनाइन्छ ।

 

 

त्यस्तै गरि इजिप्टमा हास्य, विनोद तथा नाचगान गरेर, इटालीमा ‘बेलियाकोनोन्स’ को नामले एकआपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर मनाउँने गरिन्छ । 

 

 

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यजनक भेषभूषा पहिरेर प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । फिजीमा साङ्गीतिक रमझमका साथ होली मनाइन्छ ।

 

 

होली पर्व पछिल्लो समय धार्मीक सास्कृति रूपमा भन्दा पनि विकृतिका रूपमा मोलाउँदै गएको छ । जाँड रक्सी, गाँजा जस्ता मद्यपान र धुमपान गर्ने, जथाभावी जो पायो त्यही र मनपरि जबर्रजस्त अरूलाइ रङ्ग दल्ने, पानी छ्याप्ने दूर्व्यवहार गर्ने, होहल्ला गर्ने, प्रशासनलाइ नटेर्ने जस्ता कार्य माैलाउँदै भने गएकाछन् । यस्ता विकृति रोकिनुपर्छ ।