म्यानमारमा व्यापक सैनिक दमन,एकै दिन ८९ प्रदर्शनकारीको मृत्यु

काठमाडौं,चैत १५। म्यानमारमा सैनिक ‘कु’ को विरोध गर्ने क्रममा व्यापक सैनिक दमन हुँदै आएको छ। त्यसक्रममा शनिबार मात्र कम्तीमा ८९ प्रदर्शनकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

शनिबार नै त्यहाँ ‘नेसनल आम्र्ड फोर्सेज डे’ परेको थियो। सैनिक ‘कु’ को चर्को विरोध भइरहेका बेला सेनाले पनि व्यापक दमन गरेपछि उक्त संख्यामा प्रदर्शनकारीको मृत्यु भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि छन्।

 

त्यहाँको सेनाले गत फरवरी १ मा निर्वाचनमा व्यापक धाँधली भएको दाबी गर्दै जननिर्वाचित प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी र उनले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसीका नेताहरूलाई नियन्त्रणमा लिएको थियो।

 

सेनाले जननिर्वाचित प्रतिनिधिसहित राजनीतिक दलका नेताहरूलाई नियन्त्रणमा लिँदै एक वर्षका लागि संकटकाल घोषणा गरेपछि त्यसको विरोधस्वरूप दैनिक रूपमा प्रदर्शन हुँदै आइरहेको छ।

 

प्रदर्शनमा सेनाले दमन गर्दा हालसम्म करिब ४ सयको हाराहारीमा प्रदर्शनकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

म्यानमारमा भएको सैनिक दमन र त्यसबाट भएको मानवीय क्षतिको अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरूले भत्र्सना गरेका छन्।

 

शनिबार नै म्यानमारका सैनिक प्रमुख मिङ आङ लिआङले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र निर्वाचन गराउने प्रतिबद्धता जनाएका थिए। तर उनले निर्वाचन कहिले गराउने भन्नेबारे केही बताएनन्।

 

लामो समय बेलायती उपनिवेश कायम रहेको म्यानमार लामै समयदेखि सैनिक शासकको नियन्त्रणमा रहँदै आएको छ।

 

शुक्रबार मात्रै त्यहाँको सरकारी टेलिभिजनले प्रदर्शनकारीलाई चेतावनी दिँदै विगतबाट नसिके प्रदर्शनकारीका टाउकामा पछाडिबाट गोली लाग्न सक्ने बताएको थियो।

 

शनिबार म्यानमारको रंगुनलगायत क्षेत्रमा व्यापक प्रदर्शन भएको थियो। त्यसलाई रोक्न सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालित थियो।

 

‘उनीहरूले हामीलाई घरघरमै आएर चरा र कुखुरालाई झैं मारिरहेका छन्। तर हामी निरन्तर प्रदर्शन जारी राख्छौं,’ समाचार संस्था रोयटर्ससँग कुरा गर्दै मिंग्यान सहरका एक प्रदर्शनकारी थु या जाओले भनेका छन्।

 

 

ह्युमन राइट्स वाच एसियाका उपनिर्देशक फिल रोबर्टसनले उक्त घटनालाई भयानक, बर्बर र अस्वीकार्य भएको बताएका छन्। ‘बिल्कुल स्पष्ट छ कि यो रक्तपातपूर्ण दिन हो,’ उनले भनेका छन्।