एमालेको नेपाल–खनाल समूहले संगठन विस्तार तथा सुदृढीकरण अभियान आज घोषणा गर्दै

राष्ट्रिय भेलाबाट पारित ‘राजनीतिक प्रतिवेदन’ कार्यकर्तामाझ लैजाने तयारी

काठमाडौं,चैत २१ । नेकपा एमाले नेपाल–खनाल समूहले आज गठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको छ ।

 

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको हो । आज बस्ने स्थायी कमिटीका सदस्यहरुको बैठकले अभियान घोषणा गर्ने छ ।

 

अभियानसँगै आजदेखि राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने तयारी समेत भएको छ ।

 

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको हो ।

 

संगठन विस्तार र सुदृढिकरणसम्बन्धी केही कार्यक्रम प्रस्ताव भएको बताउँदै नेता योगेश भट्टराईले आजको बैठकले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियान घोषणा हुने जानकारी दिनुभयो ।

 

हिजोको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ ।

 

कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही भएको निष्कर्ष सुुनाउँदै नेता भट्टराईले अध्यक्ष केपी शर्मा ओली एमालेलाई विभाजित गर्न उद्यत भएको आरोप लगाउनुभयो ।

 

एमाले अध्यक्ष ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गर्नुभएको थियो ।