कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्ने सरकारको आँकलन

काठमाडौं,चैत २३। सरकारले आगामी जेठ–असारमा कोरोनाको संक्रमण फेरि उच्चविन्दुमा पुग्नसक्ने आंकलन गरेको छ।

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले संसद बैठकमा सम्बोधन गर्दै यस्तो आंकलन सुनाउनुभएको हो । मन्त्री त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन नसके संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने बताउनुभयो ।

 

यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५ हजार ७ सय ४३ नयाँ संक्रमित भेटिएका थिए। परीक्षणका आधारमा संक्रमितको अनुपात त्यतिबेला ३५ प्रतिशत पुगेको थियो ।

 

भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताउनुभयो । पुनः लकडाउनमा जान नपरोस् भनेर सबैले सावधानी अपनाउनुपर्ने भन्दै उहाँले अहिलेको अवस्थामा आतंकित भने हुन नपर्ने उल्लेख गर्नुभयो ।

 

मन्त्री त्रिपाठीका अनुसार अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ । असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य छ । खोप ल्याउन रकम अभाव नहुने पनि उहाँले जनाउनुभयो ।