एमाले प्रवेश गरेका चार सांसद माओवादी केन्द्रद्वारा निश्कासित

काठमाडौं,चैत २४। नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार जना सांसदलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।

 

कैलालीबाट निर्वाचित सांसद लेखराज भट्ट र गौरीशकर चौधरी, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी र रौतहटबाट निर्वाचित प्रभु साहलाई पार्टी सदस्यबाटै निष्काशन गरेको हो।

 

दल त्याग गरेको भन्दै पद खारेजका लागि माओवादीले संसद सचिवलायलाई पत्राचार गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसदले दल त्याग गरेमा पद रिक्त हुने संवैधानिक व्यवस्था छ ।

 

सोही व्यवस्थाअनुसार ४ जनाको पद खारेजका लागि माओवादीले प्रक्रिया अगाडि बढाएको हो । चारैजना नेताहरु हाल केपी शर्मा ओली नेतृत्वको सरकारमा हुनुहुन्छ ।

भट्ट उद्योग वाणिज्यमन्त्री, रायमाझी ऊर्जामन्त्री, चौधरी श्रम तथा सामाजिक सुरक्षामन्त्री र साह शहरी विकासमन्त्री हुनुहुन्छ ।

 

गृहमन्त्री रामबहादुर थापालाई भने माओवादी केन्द्रले कारवाही गरेको छैन । थापालाई एमालेको ओली समूहले बागमती प्रदेश इन्चार्ज बनाएको छ ।

 

स्पष्टीकरण सोधिएकामा साहबाहेक अरुले जवाफ नदिएको र जवाफ दिने साहको पनि स्पष्टीकरण चित्त बुझ्दो नभएकाले कारबाही गरेको माओवादीले जनाएको छ ।