राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाल प्रहरी अस्पताललाई क्यूआर कोड र पिओएस मेसिन हस्तान्तरण

काठमाडौं,चैत २६। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई QR Code / POS मेसिन हस्तान्तरण गरेको छ ।

 

प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त समारोहमा बिहिबार QR Code / POS मेसिन हस्तान्तरण गर्नुभएको छ ।

 

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन QR Code / POS मेसिनबाट भुक्तानी गर्न सक्नेछन् ।

 

सो समारोहमा प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धि पुनित कार्यमा रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो ।

 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बाकेर हिड्नु नपर्ने जानकारी गराउनुभयो ।

 

बि.स. २०४० सालबाट शुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ ।

 

प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राविधिक प्रहरी नायब महानिरिक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

कार्यकममा पूर्व प्रहरी महानिरिक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, उच्च प्रहरी अधिकृतहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।