अस्पतालमा थपिँदै कोरोना संक्रमित

काठमाडौं,चैत २८। प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ। यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन्।

 

प्रदेश १ को राजधानी विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा बिहीबार १ र शुक्रबार ५ जना भर्ना भएका छन्। सामान्य बेडमा ४ र आईसीयूमा २ जनाको उपचार भइरहेको छ।

 

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको यो अस्पतालमा आएका संक्रमितको उपचार थालिएको सामाजिक विकासमन्त्री उषाकला राईले बताइन्।

 

‘पहिले पनि प्रदेश १ मा एकैपटक धेरै संक्रमित भेटिएका थिए’, मन्त्री राईले भनिन्, ‘त्यसलाई ध्यानमा राख्दै हामीले उपचारमा खटिने स्वास्थ्यकर्मी र अस्पताललाई तयारी गरेका छौं। अस्पतालमा आएका बिरामीको उपचार पनि भइरहेको छ।

 

मन्त्री राईले २४ घण्टा नै सेवा दिन पहिलेभन्दा धेरै सुधारको तयारी भइरहेको बताइन्। ‘पहिलेजस्तो खाने बस्ने र सेवा दिनेमा अब भद्रगोल हुने छैन’, उनले भनिन्, ‘हरेक कुराको सुधार अब अस्पतालमा देख्नुहुनेछ।

 

कोभिड १९ निगरानी तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा। रवीन्द्र निरौलाले लक्षणसहितका संक्रमितलाई भर्ना गरेर उपचार सुरु गरिएको बताए। ‘हामीले पूर्णरुपमै अस्पताल सञ्चालनमा ल्याएका छौँ’, संयोजक डा। निरौलाले भने।

 

प्रदेश सरकारले अस्पतालमा बिरामीअनुसार चिकित्सक र कर्मचारी बढाउँदै लैजाने तयारी गरेको छ। हाल ४ देखी ६ जनासम्म कर्मचारी र चिकित्सक अस्पतालमा खटिने गरेका छन्।

 

जनस्वाथ्य अधिकृत ओमकुमारी राजवंशीले शुक्रबारसम्म प्रदेश १ मा होम आइसोलेसनमा ९३ जना संक्रमित रहेको जानकारी दिइन्। ‘संक्रमित थपिने क्रममा छ’, राजवंशीले भनिन्, ‘केहीबाहेक सबै होम आइसोलेसनमा बसेका छन्।

 

प्रदेश १ मा २० जना संक्रमित थपिएका छन्। मोरङमा १३, झापामा ५, सुनसरीमा १ र ठेगाना नखुलेका १ जना संक्रमित भेटिएका हुन्।

 

उनीहरू सबै जना होम आइसोलेसनमा छन्। बिहीबार १९ जनामा संक्रमण पुष्टि भएको थियो  । तीमध्ये विराटनगर महानगरपालिकाका मात्रै ११ जना छन्।

 

सुनसरीका इटहरीमा ३, भोक्रा नरसिंहमा १, झापाका अर्जुनधारा, दमक र बिर्तामोडमा १र१ र प्रदेशबाहिरका १ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

त्यसअघि बुधबार १६, मंगलबार १०, सोमबार ७ र आइतबार ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ। प्रदेशमा सक्रिय संक्रमितको संख्या ९९ पुगेको छ।

 

यो प्रदेशमा पहिलो चरणमा कोरोना संक्रमणका कारण ४ सय ६६ जनाको ज्यान गएको थियो। त्यसमा प्रदेश १ वा देशबाहिरका ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। दोस्रो चरणको संक्रमणमा झापामा भारतबाट आएकी एक महिलाको उपचारको क्रममा निधन भएको छ।

 

मन्त्री राईले दोस्रो चरणमा पनि संक्रमित थपिन थालेपछि प्रदेशस्थित १४ वटै जिल्लामा १० शय्यासम्मका कोभिड आइसोलेसन वार्ड तयार गरी संक्रमितको उपचारको व्यवस्थापन गर्न निर्देशन दिएको बताइन्। ‘हामीले कोरोना खोपसँगै उपचार र व्यवस्थापन पनि सँगै अघि बढाएका छौँ’, उनले भनिन्।

 

लुम्बिनी प्रदेशको बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा बिरामी थपिँदै गएका छन्। ‘केही समय अस्पतालमा बिरामी भएनन्।

 

अहिले आईसीयूमा तीन जनाको उपचार भइरहेको छ’, लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले भने।

 

लुम्बिनी अस्पतालले सञ्चालन गरेको ‘फिबर क्लिनिक’मा स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई राख्ने गरिएको छ। जटिल अवस्थाका बिरामीलाई आईसीयूमा भर्ना गर्ने गरिएको छ।

 

यो प्रदेशमा बुधबार र बिहीबार दुई दिनमै ७६ जना संक्रमित थपिएका छन्। शुक्रबार एक जनाको मृत्यु भएको छ। बिहीबार ५० र बुधबार २६ जना संक्रमित भएका हुन्।

 

‘यो महिनामा कोरोना संक्रमितको संख्या बढेको छ’, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा। पुष्पराज पौडेलले भने।

 

लुम्बिनी अस्पताल, भीम अस्पताल भैरहवामा आइसियुसहितका बेड राखिएको छ। दाङ र नेपालगन्जमा दुई कोरोना विशेष अस्पतालमा आईसीयू छन्।

 

मन्त्रालयका अनुसार कोरोना बिरामीका लागि ५० वटा आईसीयूसहितको बेड व्यवस्थापन गरिएको छ। प्रदेशभरका कोरोना अस्पतालमा ३१ बिरामीलाई आईसीयूमा राखिएको छ। संक्रमित भई उपचारमा रहेकाको संख्या २ सय ५४ छ।

 

भारतमा दैनिक संक्रमितको संख्या सवा लाख नाघेको छ। खुला सीमाका साथै नाकामा बलियो स्वास्थ्य मापदण्ड अवलम्बन नगरिँदा संक्रमित बढ्ने जोखिम देखिएको छ।

 

रुपन्देहीको बेलहिया नाकामा सामान्य स्वास्थ्य जाँच मात्रै भइरहेको छ। अन्य साना नाकाबाट आउजाउ गर्नेको लर्को छ।

 

चिकित्सकले अहिले देखिएको कोरोना भाइरस पहिलेको तुलनामा जटिल प्रकारको रहेको बताइरहेका छन्। त्यसैले पनि बढी सचेत हुनुपर्ने मन्त्रालयका सूचना अधिकारी डा.पौडेलले बताए।

 

‘स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै काम गर्न सबैलाई आग्रह गरिएको छ, उनले भने, ‘कसैले हेलचेक्र्याइँ गर्नु हुँदैन। यसले ठूलो रूप लिन सक्छ।

 

कोरोनाबाट यो प्रदेशमा ४ सय १४ जनाको मृत्यु भएको छ। बाँके, रुपन्देहीमा भारतबाट आएकाहरूमा संक्रमण देखिएको छ। सीमामा निगरानी नभएका कारण उनीहरू सीधै गाउँ–गाउँ पुगेका छन्। अन्नपूर्ण पोष्टबाट।