भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शुरु

काठमाडौं,चैत २८ ।भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्वको प्रसिद्ध बिस्का अर्थात् बिस्केट जात्रा शुरु भएको छ।

 

यो जात्रा नौ दिन आठ रातसम्म चल्नेछ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथमा भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँच तल्ले मन्दिरको प्राङ्गणबाट माथिल्लो र तल्लो टोलतर्फ तानातान गरेर जात्रा शुरु भएको हो ।

 

टौमढीबाट तानेर गाहीटीमा रथ राखेपछि आजको जात्रा सम्पन्न भएको छ । चैत्र ३१ गते खलाँ हुँदै योसींख्योसम्म लगेपछि लिंगो ठड्याउन सुरु गरिन्छ । २०७८ साल बैशाख १ गते लिंगो ढालीसके पछि रथलाई तानेर गःहीटीमा पुर्‍याएर ठुलो रथ र सानो रथलाई जुधाउने चलन छ ।

 

वैशाख २ गते टोल टोलमा रहेका बिभिन्न देवीदेवताको जात्रा हुन्छ । वैशाख ५ गते पुनः भैरवको रथ तानेर टौमढीमा पुर्‍याए पछि बिस्केट जात्रा सम्पन्न हुन्छ ।

 

जात्रामा हुने अवान्छित क्रियाकलाप रोक्न प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गरेको छ । कोरोना संक्रमण बढेकाले सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ । महामारीका कारण गतवर्ष जात्रा हुन सकेको थिएन ।