गर्मीसँगै बालबालिकामा कोरोना सङ्क्रमणको जोखिम

काठमाडौँ, चैत २९। गर्मी मौसमको आगमनसँगै कतिपय रोगव्याधी सल्बलाउन थाल्छन् । गर्मीयामसँगै बालबालिका अझ बढी जोखिममा हुन्छन् । कोरोना भाइरसको जोखिमसँगै अन्य रोगले पनि बालबालिकालाई सताउने हुँदा सतर्क हुनु जरुरी रहेको चिकित्सकको सुझाव छ ।

 

गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेङ्गु, हेपाटाइटिस, छालामा हुने समस्यालगायतका बिरामी बढ्ने गरेको विशेषज्ञको भनाइ छ ।

 

बालबालिकालाई यस्तो रोगबाट जोगाउन अझ बढी सतर्क रहनुपर्छ ।गर्मीयाममा समयमा खाना, पानी, बसाइ तथा कपडा प्रयोग गर्दा बालबालिकालाई रोगबाट टाढा राख्न सकिन्छ ।

सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडो मौसमभन्दा धेरै किसिमका इन्फ्ल्युएन्जा भाइरल रोगले सताउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मीमा सबैभन्दा बढी सङ्क्रमण पानीबाट हुने गर्छ ।

 

त्योसँगै गर्मी मौसममा बढी हावा चल्ने हुन्छ । हावाले उडाएर ल्याउने धुलोका कारण छाला र आँखामा पनि समस्या देखापर्ने गर्छ ।

 

उहाँले भन्नुभयो, “गर्मीको सुरुवातसँगै झाडापखाला, टाइफाइडलगायत तराईमा सर्पको टोकाइले हुने बिरामी देखा पर्न थालेका छन् ।

 

गर्मी मौसममा धेरैजसो बालबालिका बिरामी हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “गर्मी मौसममा खाएको खाना राम्रोसँग पच्दैन, त्यसले बालबालिकामा झाडापखाला, आउँ, दादुराजस्ता समस्या देखा पर्छन् ।

 

अत्यधिक गर्मीका कारण बढीजसो चिसो खानेकुरा खाने गरिन्छ, बच्चामा यसको छिटो असर पर्ने हुनाले चिसोले लाग्ने रोगको असरसमेत देखा पर्न सक्छ ।

 

वायुमण्डलमा भएको धुलो र प्रदूषित पानीका कारण टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिसजस्ता रोगले पनि बालबालिकालाई सताउने उहाँको अनुभव छ ।

 

अस्पतालको तथ्याङ्क हेर्ने हो भने जाडोयामको तुलनामा गर्मी र वर्षायाममा अस्पताल पुग्ने बिरामीको सङ्ख्या करिब दुई गुना हुने गर्छ ।

 

फोहोर तथा धुलोका कारण बालबालिकालाई चिलाउने, हातखुट्टामा घाउ हुने सम्भावना पनि उत्तिकै हुने जनस्वास्थ्य तथा पोषणविद् डा.अरुणा उप्रेतीको भनाइ छ ।

 

उहाँले भन्नुभयो, “बाहिरको जथाभावी खाना खुवाउने कारणले पनि बालबालिकामा विभिन्न रोग आउने गरेका छन्, घरको स्वस्थ खाना खुवाउने, पानी प्रशस्त मात्रामा दिन सक्यो भने रोगसँग लड्ने क्षमता विकास हुन्छ । सादा पानी मात्र खान सक्दैनन् भने अलिकति कागती पनि हाल्न सकिन्छ ।

काठमाडौँमा वायु प्रदूषणको डरलाग्दो अवस्था देखिएसँगै छालासम्बन्धी रोग बढ्ने सम्भावना छ । गर्मी मौसममा बढी पसिना आउने भएकाले बाहिर उडेको धुलो मानिसको छालामा टाँसिन्छ ।

 

यसले गर्दा छालामा एलर्जी हुने, चिलाउने, फोका उठ्ने र खटिरा आउनेजस्ता समस्या देखापर्ने डा.उप्रेतीको भनाइ छ । उहाँले भन्नुभयो, “बालबालिकाले नाइलन, पोलिस्टरभन्दा पनि सुती र सिल्कजस्ता कपडा लगाउनुपर्छ ।

उहाँका अनुसार जौ वा गहुँको सातुको सर्बत, बेल तथा चिसो मिठो लस्सी आदि पिउनुपर्छ । खानामा भात, जौ वा गहँुको रोटी, मुगी वा मसुरोको पातलो दाल, हरियो सागपातको तरकारी, बिहानको खानामा दही वा मही, प्याज, पुदिना र धनियाँको चटनी, काँक्रो आदिको सलाद खानु राम्रो हुन्छ ।

कसरी बच्ने  

बालरोग विशेषज्ञ डा.जुन डङ्गोल भन्नुहुन्छ, “गर्मी मौसममा बान्ता तथा झाडापखाला लाग्नुका कारणमा दूषित खानपान तथा पानी नै हो । त्यसैले बासी, सडेगलेका तथा झिँगा भन्किएका खानेकुरा, फोहोर पानी प्रयोगमा ल्याउनु हुँदैन ।

 

यो मौसममा झिँगा, लामखुट्टे, फट्याङ्ग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

पानी उमालेर पिउने गर्दा गर्मीमा ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिने बताउँदै डा.डङ्गोलले भन्नुभयो, “यो मौसममा रोग फैलिने हुनाले यी सबै बिरामीको आधारभूत रोकथामका लागि उमालेर सेलाएको पानी पिउनु जरुरी छ ।हल्का, खुकुलो र छरितो लुगा, सनग्लास, घामबाट छालाको सुरक्षा गर्ने क्रिम आदिको प्रयोग आवश्यक छ ।

 

बजारमा पाइने पानीपुरी, चटपटे आदि खुला खानेकुरा बालबालिकामा लोकप्रिय छ, यस्ता खानाबाट बचाउन घरबाटै खाजाको व्यवस्था गरे राम्रो हुने बताउँदै उहाँले यस्ता खानेकुरा खाँदा पेट दुखेर पखाला र बान्ता हुने जानकारी दिनुभयो ।

 

फोहोर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने सम्भावना पनि उत्तिकै हुने हुँदा समय–समयमा हातखुट्टा धुनुपर्ने उहाँले बताउनुभयो ।

 

पोषणविद् डा. उप्रेतीका अनुसार गर्मी मौसममा धेरै खाए अपच हुने हुन्छ । त्यसैले एकै पटक धेरै खानेकुरा नखाने बिस्तारै समय–समयमा थोरैथोरै खाइरहनुपर्छ ।

 

बरफयुक्त र गुलियो पेयले झन् छिटो तिर्खा लगाउने हुनाले अति चिसो र अति गुलियो नखानु उपयुक्त हुन्छ ।गोरखापत्र दैनिकमा खबर छ।