प्युठानमा जीप दुर्घटना हुँदा ५ जना कर्मचारीको मृत्यु,११ जना घाइते,चार जनाको अवस्था गम्भिर

काठमाडौं,बैशाख १ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप प्युठानमा आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

 

 

दुर्घटनामा मृत्यु भएका सबै प्रशासनका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

 

 

दुर्घटनामा परेर सूर्य पन्थी, यमलाल पन्थी, इश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्कीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतकको ठेगाना खुलिसकेको छैन । ४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

 

 

प्रशासन कार्यालयका कर्मचारीले रिजर्भ गरेर नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भिर छ ।

 

 

गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अहिले सबै घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । जीपमा १६ जना सवार थिए ।